माओवादीसँग एकता नरुचाउने एसका १४ जना को को हुन् ?

काठमाडौं १४ कात्तिक । नेकपा एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग एकताको विपक्षमा १४ जना नेता खुलेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहितका नेता तत्काल एकताको विपक्षमा उभिएका हुन् ।

स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ रहेका छन् । पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामा छन् ।

अध्यक्ष माधव नेपालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहमति गरेर पार्टीबाट आज एकताबारे औपचारिक निर्णय गराउने तयारी छ । नेपालले एकता गरे पनि आफूहरू नेकपा एस नै अगाडि बढाउने उनीहरूले बताएका छन् ।

यद्यपि, यी नेताहरू माओवादीसँग भन्दा पनि एमालेसँग मिल्नुपर्ने पक्षमा छन् । आज केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताबारे निर्णय गरे पार्टी फुट्नसक्ने संकेत झाँक्रीले बिहानै गरेकी थिइन् ।

उनको भनाइ छ, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ, इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुर्‍याउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन ।’

त्यसो त माओवादीमा पनि एकीकृत समाजवादीलाई एकढिक्का बनाएर मात्रै पार्टी एकतामा ल्याउनुपर्ने वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मानिकट नेताहरूको मत छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति