जेन–जी आन्दोलन: कम्तीमा एक मिटर टाढाबाट हानिएको थियो गोली–पोस्टमर्टम रिपोर्ट

काठमाडौँ, १३ कात्तिक । भदौ २३ र २४ को जेन–जी आन्दोलनमा देशभरि ७६ जनाले ज्यान गुमाएकामा काठमाडौंमा ३४ जनालाई प्रहरीको गोली लागेको पोस्टमर्टम रिपोर्टले देखाएको छ। महाराजगन्जस्थित टिचिङ अस्पतालको फरेन्सिक विभागले काठमाडौंमा मारिएका ४८ जनाको पोस्टमर्टम गरेकामा तीमध्ये ३४ जनालाई गोली लागेको खुलेको हो।

विभागले आफ्नो विस्तृत रिपोर्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), जिल्ला प्रहरी परिसर काठमाडौं, जाँचबुझ आयोग र मानवअधिकार योगमा बुझाइसकेको छ। पोस्टमर्टम रिपोर्टले टिचिङ अस्पतालमा ज्यान गुमाएका व्यक्तिहरू कसरी मारिएका थिए भन्ने तथ्य पनि खुलाएको छ।

विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ११ जनाको टाउकोमा गोली लागेको पाइएको छ भने १६ जनालाई छाती, चार जनाको पेट र तीन जनाको घाँटीमा गोली लागेको थियो। ुअधिकांशलाई कम्मरभन्दा माथि गोली लागेको छ, उनले भने, अधिकांशको शरीरमा घाउको प्रकृति हेर्दा उच्च गतिमा गोली चल्ने घातक हतियार प्रयोग गरिएको देखिन्छ। नेपाल प्रहरीसँग अर्धस्वचालित एसएलआर र इनसास बन्दुक छ। यीमध्ये कुन बन्दुकबाट गोली प्रहार भएको हो भन्न नसके पनि उच्च गतिमा गोली चल्ने बन्दुक प्रयोग डा. चौधरी बताउँछन्। ुपेस्तोलबाट लागेको गोली र बन्दुकबाट लागेको गोलीमा घाउको प्रकृति फरक हुन्छ उनले भने, पेस्तोलबाट लागेको गोली शरीरभित्र एक लाइन चिरेर जान्छ। उच्च गतिको बन्दुकबाट प्रहार भएको गोली लाग्दा वरिपरिका अंगहरूमा समेत क्षति पुग्छ। यस्तो हतियारबाट प्रहार गरिने गोली प्रतिसेकेन्ड १२ सय मिटरभन्दा बढी गतिमा जान्छ। पेस्तोलबाट जाने गोलीको रफ्तार त्योभन्दा कम हुन्छ।

डा. चौधरीका अनुसार गोली लागेर ज्यान गुमाएका ३४ जनामध्ये कसैको पनि शरीरबाट सग्लो गोली निस्किएको छैन। नौ जनाको शरीरबाट गोलीको छरिएका टुक्रा फेला परेका छन्। फेला परेका गोलीका टुक्रा परीक्षण गर्न प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ। उक्त प्रयोगशालाले त्यो गोली कुन बन्दुकबाट निस्किएको हो भन्ने परीक्षण गर्नेछ।

पोस्टमर्टम रिपोर्टले देखाएको अर्को तथ्य के भने, भदौ २३ र २४ का घटनामा सबै गोली एक मिटरभन्दा टाढाबाट प्रहार गरिएका छन्। आन्दोलन क्रममा कतिपयलाई प्रहरीले बन्धक बनाएर गोली चलाएको अफवाह फैलिएको थियो। तर पोस्टमर्टम रिपोर्टले त्यसलाई पुष्टि गरेन। ुबन्दुकलाई शरीरमै छुवाएर गोली हानिएको भए त्यो घाउबाटै थाहा हुन्छ। नजिकबाट हान्दा बन्दुकबाट निस्किने झिल्कोले गोली लागेको भाग वरपर पोलेको देखिन्छ, उनले भने, जेन–जी आन्दोलनमा मारिएकाहरूको अवस्था त्यस्तो थिएन। पोस्टमर्टम रिपोर्टले गोली लाग्नेहरूको उमेर समूह पनि छुट्टयाएको छ। अधिकांश जेन–जी पुस्ताकै छन्। गोली लाग्ने सबभन्दा कान्छो उमेरका किशोर १६ वर्षका छन्। उनको टाउकोमा गोली लागेको थियो। त्यस्तै, १९ वर्षका एक जना पुरूष र अर्का एक जना महिला थिए। अन्य २०, २२ र २७ वर्षको उमेर समूहका छन्। गोली लाग्ने सबभन्दा जेठा व्यक्ति ६४ वर्षको रहेको रिपोर्टमा उल्लेख छ। आन्दोलनकै क्रममा पर्सामा आगजनीमा परी घाइते भएकी एक महिला, चुच्चेपाटीको भाटभटेनी सुपरमार्केटमा भेटिएका सातवटा शवका अवशेष, हायात होटलमा ज्यान गुमाएकी भारतीय महिला र प्रदर्शनकारीहरूको कुटपिटबाट मारिएका तीन जना प्रहरीको पनि पोस्टमर्टम गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति