काठमाडौँ, १३ कात्तिक । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको हो। कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि उनीहरुबीचको यो पहिलो भेट हो। प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन राजदूत भोल्जसँग आग्रह गरिन्।नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन्।जवाफमा राजदूत भोल्जले आफ्नोतर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए।
जर्मनीका राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए।भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो।
राहदानी छपाइका लागि पहल गरिदिन जर्मन राजदूतलाई प्रधानमन्त्रीको आग्रह
प्रतिक्रिया