काठमाडौं, १३ कात्तिक। नेकपा एकीकृत समाजवादीभित्र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयलाई लिएर गम्भीर ध्रुवीकरण देखिएको छ।
राजधानीमा जारी केन्द्रीय समिति बैठकमा औपचारिक प्रस्ताव पेश भएपछि अध्यक्ष माधव कुमार नेपाल पक्षका नेताहरू एकताको पक्षमा र सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरू विपक्षमा उभिएका छन्।
पार्टीका उपमहासचिव मेटमणि चौधरी ले एकताको विषयलाई लिएर पार्टीभित्र खासै ठूलो समस्या नरहेको दाबी गरेका छन्। एक अनलाइनसँगको कुराकानीमा उनले अधिकांश नेता–कार्यकर्ता एकताको पक्षमा रहेको बताए।
उपमहासचिव चौधरीले माओवादीसँग एकता गरेरै अगाडि बढ्ने पार्टीको औपचारिक निर्णय हुने स्पष्ट पारे। उनले एकताको विपक्षमा देखिएको आवाजलाई सामान्य रूपमा लिनुपर्ने बताए।
‘लाखमा, हजारमा त एक–दुईटा फरक कुरा निस्किन्छ नि । ९९ प्रतिशत एकढिक्का हुँदा एक प्रतिशतले अर्कोतिर मुख फर्काइरहेको हुन्छ । त्यो त स्वाभाविक हो नि,’ चौधरीले भने।
उनले थप स्पष्ट पार्दै भने, ‘बोरामा एक–दुईटा बियाँ त भटिनुलाई स्वाभाविक रुपमा लिनुपर्छ।’ यस भनाइबाट उनले एकीकृत समाजवादीका ९९ प्रतिशत सदस्य माओवादी केन्द्रसँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा रहेको दाबी गरे।
चौधरीका अनुसारः
नयाँ पार्टीको नाम: विभिन्न प्रस्तावहरूमध्ये ‘नेकपा समाजवादी’ नाम रहने सम्भावना बढी छ।
एकताको समय: आगामी मंसिर महिनामा एकता महाधिवेशन गरेर निर्वाचनमा जाने तयारी छ।
चुनाव चिह्न: एकीकृत समाजवादीले कलम र माओवादी केन्द्रले तारा राख्ने प्रस्ताव गरे पनि अन्तिम निर्णय महाधिवेशनबाट हुने।
नेता व्यवस्थापन: एकता महाधिवेशनमा सबै नेताहरूको व्यवस्थापनबारे छलफल टुंगिने।
आजको केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। खनाल पक्षले एकता प्रक्रिया हतारमा गर्न नहुने अडान लिएका छन्। तथापि, उपमहासचिव चौधरीले अध्यक्ष नेपाल पक्ष पार्टी एकताको निर्णयमा एकदमै आत्मविश्वासका साथ अगाडि बढ्ने दावी छ । बैठकको पहिलो दिन अध्यक्ष नेपालले एकताको विपक्षमा रहेका नेताहरूलाई जवाफ दिँदै विद्रोहको औचित्य छैन भन्ने नेताहरू ओलीसामु लम्पसार परेको जवाफ दिएका थिए । ‘विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु हो, यसो भन्नेहरू गए हुन्छ’ अध्यक्ष नेपालको प्रस्ट सन्देश थियो । त्यतिमात्रै होइन अध्यक्ष नेपालले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचनको विकल्प नभएकाले त्यसअघि पार्टी एकता गरेर अघि बढ्दामात्र चुनावमा नतिजा हासिल हुने सन्देश बैठकमा दिएका थिए । साथै उनले वर्तमान सरकार निर्माणमा आफ्नो समेत भूमिका रहेको बताएका थिए । तर अध्यक्ष नेपालको उक्त भनाइप्रति नेता रामकुमारी झाँक्री र दामोदर अर्यालले सार्वजनिक रूपमै खण्डन गरेका छन् ।
‘यो सरकार असाधारण बिध्वंस र संविधानलाई घाइते बनाएर निर्माण भएको हो । यो सरकारमा आन्दोलनकारीहरूको प्रतिनिधित्व पनि छैन । त्यसबाहेक समयमै चुनाव हुन्छ भन्ने कुराको समेत कुनै ग्यारेन्टी छैन’, नेता दामोदर अर्यालले नेपाललाई जवाफ दिँदै सामाजिक सञ्जालमा बिहीबार लेखेका छन् ।
‘त्यसकारण यो सरकार निर्माणमा मेरो पनि भूमिका छ भनेर कसैले गौरववोध नगरे हुन्छ’, अर्यालको पोस्टमा नेतृ रामकुमारी झाँक्रीले कमेन्ट गर्दै भनेकी छन्, ‘मान्छेहरू कसरी बाँच्छन् भन्ने सन्दर्भ एउटा भनाई छ : मान्छेहरूलाई बाँच्न जीवनमा ऊर्जा चाहिन्छ त्यो ऊर्जा २५% खुराकबाट, २५% प्रेमले र बाँकी ५०% भ्रमबाट प्राप्त हुन्छ र । यस्तै हो कमरेड ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष तथा एकताको पक्षमा रहेका राजेन्द्र पाण्डेले ‘मेरो के हुन्छ ?’ भन्ने मानसिकताका कारण केहीले एकताको विरोध गरेपनि पार्टी कमिटीमा स्पष्ट आइनसकेकाले यसै हुन्छ भन्न नसकिने बताएका छन्
माओवादी केन्द्रका अनुसार दल दर्ताका लागि आवश्यक कागजातको तयारी भइरहेको छ । यो प्रक्रिया कार्तिक २० गते बिहिबार वा २१ गते शुक्रबारसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

तर सबै वाम घटक उक्त एकीकरणमा सहमत देखिएका छैनन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समूह)ले नयाँ पार्टीमा सहभागी नहुने निर्णय गर्दै हिजो नै निर्वाचन आयोगमा दल दर्ताको तयारी थालेको छ । माओवादी केन्द्रभित्र पनि असन्तुष्टि देखिएको छ ।निर्वाचन आयोगमा नयाँ दल दर्तापछि वाम राजनीतिमा शक्ति–पुनर्संरचना हुने कतिपयको विश्लेषण छ ।
प्रतिक्रिया