काठमाडौं, ११ कात्तिक । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तीन जना प्रहरीको हत्या आरोपमा हालसम्म १२ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा तिहारअघि र पछि गरी विभिन्न चरणमा १२ जनालाई पक्राउ गरिएको हो।
भदौ २३ गते बानेश्वरमा प्रहरीको गोली लागेर १७ जना युवाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण गर्दा तीन जना प्रहरी मारिएका थिए।
हत्यामा मारिने प्रहरी र पक्राउ पर्नेको को हुन् ?
भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका दुई जना र प्रहरी प्रभाग कोटेश्वरका एक जना गरी तीन जना प्रहरीको हत्या भएको थियो।
महाराजगन्जका सहायक निरीक्षक (असई) मिलन रायः
पक्राउ परेका काभ्रेका युवराज क्यापछाकी र ‘सोनाम’ भनिने बुद्धिलाल तामाङ।
महाराजगन्जका प्रहरी जवान उत्तम थापाः
पक्राउ परेका : होमप्रसाद पौडेल, टिकाराम विश्वकर्मा, सिन्धुली गोलञ्जोरका अलिष श्रेष्ठ (२२), र रसुवाका सौरभ तामाङ (२७)। श्रेष्ठ र तामाङलाई उत्तम थापामाथि कुटपिट, प्रहरी कार्यालय तोडफोड र आगजनीको आरोपमा सोमबार पक्राउ गरिएको हो।
कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङः
पक्राउ परेकाः अनुपम भण्डारी।
यीसहित तिहारको बीचमा थप ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाका सोमबहादुर गुरूङ (२१), तनहुँका राजीव गुरूङ (२१), तनहुँकै युनिक श्रेष्ठ (२१), सर्लाहीका १७ वर्षीय र रामेछापका १६ वर्षीय युवक रहेका छन्। यी सबै जेनजी पुस्ताकै हुन् । पक्राउ परेका सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या, तोडफोड र आगजनीमा संलग्न थप व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार भदौ २४ गतेका घटनामा संलग्न २५४ जनालाई पक्राउ गरिसकिएको छ, जसमध्ये ५४ जना आगजनी र तोडफोडमा संलग्न थिए।
प्रधानमन्त्रीसँग ‘जेनजी युनाइटेड’ को भेटवार्ता
प्रहरी हत्याको विषयमा अनुसन्धान चलिरहेकै बेला ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको छ।
भेटमा जेनजी आन्दोलनका घाइते र शहीद परिवारका सदस्यहरू समेत ९ जना प्रतिनिधि सहभागी थिए। उनीहरूले प्रधानमन्त्रीसमक्ष जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गर्न माग राखेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी प्रतिनिधिको भनाइ थियो, “जेनजी विद्रोहबाट उत्पन्न भएको सरकार हो, यही सरकारले अभिभावकत्व दिन सक्नुपर्छ।”
जवाफमा प्रधानमन्त्री कार्कीले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “हामीले सबै खालका जेनजीहरूसँग संवाद गरिरहेका छौं। तपाईंहरू पनि लाग्नुस्। हाम्रो तर्फबाट सकेको जति साथ समर्थन रहन्छ।”
प्रतिक्रिया