काठमाडौं, ९ कात्तिक । गणपतिलाल श्रेष्ठले मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरेको बताएका छन् ।
श्रेष्ठका अनुसार, उनलाई सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व दिने भनिएको थियो । तर, पछि आफूलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेपछि आफूले अस्वीकार गरेको उनको भनाइ छ ।
उनले शनिबार (कात्तिक ८ गते) प्रधानमन्त्रीले नै आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि तयारी गर्न भनेको पनि दाबी गरेका छन् । तर, अचानक आफूलाई जानकारी नदिई मन्त्रालय फेरिएको उनको आरोप छ । गणपतिले एक विज्ञप्ति जारी गरी आफूलाई पर्यटन मन्त्रालयको योजना बनाउन लगाएर अन्तिममा भूमि व्यवस्था मन्त्री बन्न भनिएपछि अस्वीकार गरेको स्पष्ट पारेका छन् । आइतवार साँझ वक्तव्य जारी गर्दै उनले एक महिना अगाडि नै प्रधानमन्त्रीले बोलाएर भेटेको र मार्गचित्रसमेत तयार गरेको बताएका छन् । ‘मलाई कात्तिक ८ गते (हिजो) प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा बोलाएपछि गृहमन्त्री र उर्जामन्त्री समेतको उपस्थितिमा मैले आफ्नो अनुभव तथा योजना सुनाएँ ।उहाँले मसँग संवाद गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन तपाईं सक्षम व्यक्ति रहेकाले भोलि सपथको तयारी गर्नुस भन्नुभयो ।त्यस अनुसार म आज विभिन्न विज्ञहरु तथा जात्रा पर्वमा संलग्न तथा सरोकारवालाहरुसँग छलफल गरिरहेको अवस्थामा विहान एकाएक सञ्चारमाध्यमबाट आफू भूमि व्यवस्था, सहकारी र गरिबी निवासर मन्त्रीको रुपमा नियुक्त हुुन लागेको जानकारी भयो ।’त्यसपछि आजै विहान गृहमन्त्री ओम प्रकाश अर्यालले फोन गरेर आफूविरुद्ध ठूलो शक्ति लागेको भन्दै प्रधानमन्त्रीलाई भेट्न सुझाएको उनको दावी छ ।त्यसपछि प्रधानमन्त्रीसँग भेट्दा पर्यटन मन्त्रीमा अर्कैलाई वचन दिइसकेको भन्दै अर्कैतिर हेरेपछि आफूले मन्त्री बन्न अस्वीकार गरेको उनले बताएका छन् ।‘मैले हिजो बेलुका मलाई दिनुभएको वचन चै के भनि प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिइकन अर्कोतिर हेर्नुभयो,’ उनले भनेका छन्, ‘हाल बनेको सरकार विषय विज्ञताको आधारमा बन्नुपर्ने सर्वसाधारणको माग रहेको र मेरो धाराण पनि त्यही भएकाले म मन्त्री बन्नका लागि मात्रै मन्त्री बन्न अनुच्छिक रहेको पुन प्रष्ट पारेँ ।’
प्रतिक्रिया