कार्की मन्त्रिपरिषदमा यी चार जना मन्त्री बन्दै

काठमाडौँ ९ कात्तिक। प्रधानमन्त्री शुशीला कार्कीले आज फेरि आफ्ना मन्त्रिरिषद विस्तार गर्ने भएकी छन् ।
मन्त्री हुनेहरुमा गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बनाउने उल्लेख रहेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

त्यो बाहेक डा.सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइँदै छ ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने तय भइसकेको छ । यसअघि भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका थिए ।

स्वास्थ्य मन्त्री बन्न लागेकी डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।  उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

भूमि मन्त्री बन्न लागेका गणपतिलाल श्रेष्ठ सम्पदा अभियानी हुन्। उनी लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रहरूको मौलिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन र जगेर्नाका क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।

‘सम्पदा प्रेमी’ भनेर चिनिने श्रेष्ठ विगत दुई दशकदेखि उपत्यकादेखि बाहिरसम्म पुरातात्विक सम्पदाको संरक्षणमा सक्रिय छन्। भूकम्पपछिको पुनर्निर्माणमा रानीपोखरी र पशुपति क्षेत्रमा कंक्रीट हाल्ने प्रयासविरुद्ध, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगविरुद्ध र खुलामञ्चको व्यापारीकरण रोक्न उनले सडकदेखि अदालतसम्म आवाज बुलन्द गर्दै आएका छन्। निरन्तर प्रतिरोधका कारण उनले पटक–पटक धम्कीसमेत सहनुपरेको थियो।

भूकम्पले आफ्नै घर समेत भत्काइसकेका बेला वसन्तपुर क्षेत्रमा सम्पदा संरक्षणमा खटिएका श्रेष्ठले हनुमानढोका नीजिकरणविरुद्ध अदालत धाए। गुठी विधेयकविरुद्धको गुठी आन्दोलनमा अग्रपंक्तिमा उभिँदै उनले ‘राष्ट्रिय पहिचान संरक्षक संयुक्त संघर्ष समिति’को संयोजन गरे।

उनी मात्र सम्पदा संरक्षक होइनन्, संस्कृतिको जीवित परम्परा जोगाउने अभियन्ता पनि हुन्। काठमाडौंको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा, गाइजात्रा र फागु पूर्णिमालाई व्यवस्थित गर्न उनको संयोजनात्मक भूमिका निर्णायक रहँदै आएको छ।

गणपतिका दुई जना दाजुहरु रञ्जनलाल श्रेष्ठ, उपकारलाल श्रेष्ठ पनि उनको अभियानका सहयोगी हुन् ।

प्रधानमन्त्री कार्कीले दल–विहीन तर जनआवाजसँग नजिक रहेका व्यक्तिलाई मन्त्रिपरिषदमा ल्याउने सोच बनाएकी छन्। यही पृष्ठभूमिमा गणपतिलाल श्रेष्ठको नाम संस्कृति मन्त्रालयका लागि गम्भीर रूपमा चर्चा भएको छ।

खगेन्द्र सुनार अभियानी हुन्। उनी विशेष गरेर दलित हकहित र अधिकारका क्षेत्रमा क्रियाशील छन्। छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरूद्ध पैरवी गरिरहेका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर चर्चामा आएका थिए। त्यतिबेला उनको ‘दलितलाई खै’ भन्ने अभियान चर्चामा थियो।

सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् । उनले संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए । दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका उनी २०७७ साल जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।

बब्लु गुप्ता पनि अभियानी नै हुन्। उनी परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्। उनले कोभिडकालमा निस्शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति