नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति

काठमाडौं, ३ कातिक । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व भएको बताएका छन्। आज तिहार पर्व, २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका हुन्।

उनले भने,‘सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि हो । तिहारका माध्यमबाट प्रकट हुने विभिन्‍न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस् भन्‍ने कामना गर्दछु।’

‘हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुहरूको महान पर्वको रुपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ । तिहार पर्वलाई यमपञ्‍चक पनि भनिन्‍छ ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धको स्वरूप गोवर्द्धन पर्वत, मानव र अन्य पशुपन्छी, जीव जनावरहरूबीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउन परिवार, प्रकृति, जनावर र देवता प्रतिको सम्मान र प्रेम झल्काउने यस पर्वमा सामाजिक भाइचारा र सद्‍भाव दर्शाउन दियो बाल्ने, मीठा परिकारहरू बाड्ने तथा देउसी भैलो खेल्‍ने परम्परा रहेको छ । यस्ता प्रचलनले नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ । ’

पौडेलले भाइटीका लगाउने, म्हपूजा गरी आत्मशुद्धि गर्नेजस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले तिहार पर्वले नेपालीहरूबीच आपसी सद्‌भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति