काठमाडौं,। जेनजी पुस्ताको आन्दोलनबाट सत्ता गुमाएपछि नेकपा एमाले भित्र चर्किएको आन्तरिक द्वन्द्वले पार्टीको शीर्ष नेतृत्वमा गम्भीर संकट निम्त्याएको छ। पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीभित्रबाटै राजीनामा दिन चर्को दबाब परे पनि उनले त्यसलाई कडा रूपमा अस्वीकार गर्दै महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने अडान लिएका छन्। शुक्रबार र शनिबार स्थगित भएपछि आइतबार गुण्डुस्थित ओलीको निवासमा बसेको केन्द्रीय सचिवालयको ५८औं बैठकले यो निर्णय गरेको छ।
जेनजी आन्दोलन र ओलीको स्थिति
भदौ २३–२४ गते भएको जेनजी पुस्ताको आन्दोलनले बालुवाटारमा ठूलो विध्वंस मच्चाएपछि ओलीको सरकार ढलेको थियो। आन्दोलनकारीहरूले बालुवाटार घेरेपछि ओली हेलिकप्टरमार्फत भागेर हेटौंडा पुगेका थिए । त्यहीं राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीमा शुशीला कार्कीलार्य नियुक्ति गर्नेबारे स्वीकृतिका लागि उनलाई सम्पर्क गरेका थिए। आन्दोलनपछि सरकारले ओलीको पासपोर्ट रोक्का गरेको छ भने राजधानी बाहिर निस्कन पनि प्रतिबन्ध लगाएको छ। बालकोटस्थित उनको घर जलेपछि गुण्डुस्थित डेरामा बस्दै आएका ओलीलाई पार्टीभित्रबाट नैतिक जिम्मेवारी लिन राजीनामा दिन दबाब परिरहेको छ।
सचिवालय बैठकमा ओलीले भने, ‘मैले मुलुकको अहित हुने के काम गरेको छु ?’ मैले के बिगारेको छु ? भ्रष्टाचार गरेको छु ? राजीनामा किन दिने?’ उनको यो अडानले पार्टीभित्रको विभाजनलाई थप स्पष्ट पारेको छ। बैठकमा सहभागी अधिकांश पदाधिकारीले ओलीलाई सम्मानजनक निकास दिन आग्रह गरेका थिए, तर उनले ‘जे गर्नुपर्ने हो, महाधिवेशनबाट हुन्छ’ भन्दै पन्छिए।
सचिवालय बैठकमा मतभेद, को कता ?
शुक्रबार शुरु भएको बैठक आइतबारपनि झण्डै नौ घण्टासम्म चलेको थियो। बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ुबादलु, गुरू बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसहितका नेताहरूले धारणा राखे।
राजीनामा माग्ने पक्षमा बहुमत देखियो। सचिव गोकर्ण विष्टले जेनजी विद्रोहलाई विदेशी षड्यन्त्र भन्दै भाग्न नहुने तर्क गर्दै भने, ‘बाहिरी शक्तिहरूले अस्थिरता पैदा गर्न खोज्छन्, तर सरकारले जोगिन सक्नुपर्थ्यो। यो शासकीय अयोग्यता हो। सम्मानजनक निकासले तपाईं र पार्टी दुवैलाई हित गर्छ।’ यस्तै, सचिव योगेश भट्टराईले ओलीलाई ‘लिडर अफ रिकन्सिलेसन’ (राष्ट्रिय मेलमिलापको नेता) बन्न आग्रह गर्दै भने, ‘राष्ट्रियता, पूर्वाधार र अन्तर्राष्ट्रिय मञ्चमा तपाईंले मानक स्थापित गर्नुभयो। अब नेतृत्व हस्तान्तरण गरेर अभिभावक बन्नुहोस्। पार्टीमा तपाईंको नाम लिएर गुटबन्दी र अपमान बढेको छ।’

उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले मुखरित रूपमा राजीनामा मागेका थिए । विष्णु पौडेलले ‘पुनर्गठन’ शब्द प्रयोग गर्दै ओलीको नेतृत्वमा पार्टी अगाडि नबढ्ने तर्क गरे। पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमार्फत पुनर्गठनको पक्षमा बोले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको आलोचना गरे, ‘यसले युवाहरूलाई आक्रोशित बनायो र परिस्थिति काबुबाहिर गयो।’
ओलीको पक्षमा उपाध्यक्ष गुरू बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल उभिए। बरालले ‘पार्टी र आन्दोलनमाथि आक्रमण भइरहेको बेला नेतृत्वविरुद्ध आक्रमण नगर्नु’ भन्दै ओलीको प्रतिरक्षा गरे। बादलले राजीनामा नभई पुनर्गठनको पक्षमा बोलेका थिए । एक पदाधिकारीका अनुसार, ‘घण्टौंसम्म सबैको कुरा सुने पनि ओलीले बहुमतको भावना बमोजिम निर्णय लिनुभएन।’
प्रतिनिधिसभा पुनर्स्थापनामा चर्को विवाद
राष्ट्रिय राजनीतिका बारेमा एमाले सचिवायलमा अन्योल र मतभेद देखियो। अधिकांश पदाधिकारीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग छोडेर चुनावमा केन्द्रित हुनुपर्ने तर्क गरे। ‘चुनावले संवैधानिक र राजनीतिक संकट हल गर्छ। पुनर्स्थापनाले परिस्थिति झन् गिजोलिन्छ,’ ईश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराईले प्रष्टै रुपमा आफ्ना धारणा राखेका थिए । उनीहरूले अन्तरिम सरकारको प्रतिशोधपूर्ण निर्णयहरू (पासपोर्ट रोक्का, कैदीबन्दी नखोज्ने) माथि दबाब दिन चुनावलाई एजेन्डा बनाउनुपर्ने मत राखे।
तर ओलीले भने यस अघि नै सार्वजनिक भाषण गरेकै शैलीमा संसद पुनर्स्थापनाकै अडान दोहोर्याए। ‘विघटन असंवैधानिक थियो, पुनर्स्थापना हुनुपर्छ,’ उनले भने। प्रदीप ज्ञवालीले पनि ‘अदालत खुलोस्, अनि हामी जान्छौं’ भन्दै यो निर्णयलाई समर्थन गरे। बादलले ‘पुनर्स्थापनाले प्रतिक्रान्ति पराजित हुन्छ’ भन्ने तर्क अघि सारेर सबैलाई चकित पारेको एक पदाधिकारीले बताए ।
महाधिवेशनको निर्णय र भविष्यको बाटो
बैठकले मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ। यही २९–३१ गते बस्ने केन्द्रीय कमिटी बैठकले मिति र स्थान तोकेर पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। यो महाधिवेशनले ओलीको भविष्य निर्धारण गर्नेछ। ओली निकट नेताहरूले यसलाई ‘जित’ को रूपमा प्रचार गरेका छन्, तर बहुमत पदाधिकारीले ‘टाल्ने रणनीति’भनेका छन्।
पार्टी स्रोतका अनुसार, ओलीले कार्यवाहक तोकेर बिदा लिने विकल्प भएपनि , ‘राजीनामाको च्याप्टर बन्द भयो’ भन्ने ओली समर्थकहरूको दाबीलाई इतर समूहले अस्वीकार गरेको छ। बैठक लगत्तै ओली समर्थकहरुले सामाजिक सन्जालमा ओलीको अडानलाई ‘हिम्मत’ भन्दै प्रशंसा गरेका छन् भने अन्यले ‘ओली युगको अन्त्य’ भन्दै निन्दा गर्न थालेका छन् ।
आइतबारको बैठकभन्दा अघि ओलीको स्वास्थ्य बिग्रिएपछि शनिबारको बैठक स्थगित भएको थियो। रुघाखोकी र अस्वस्थताले प्रभावित भएका ओलीलाई आराम दिइएको थियो। यो घटनाले पार्टीभित्र थप चिन्ता बढाएको छ।
पार्टीको भविष्य के त ?

ओलीको अडानले एमालेमा संस्थापन र इतर समूहबीचको खाडल झन् गहिरिएको छ। जेनजी आन्दोलनको समीक्षा, पुनर्स्थापना वा चुनाव र नेतृत्व परिवर्तनका मुद्दाले पार्टीको एकतालाई चुनौती दिइरहेको छ। मंसिरको महाधिवेशनले मात्र यो संकटको निकास दिन सक्छ। तर, बहुमतको दबाब र ओलीको दृढताबीच पार्टीको शक्ति समीकरण फेरिने निश्चित छ। ओलीको बुझाईमा केन्द्रीय कमिटिमा उनको पक्षमा ७० प्रतिशत बहुमत छ भने महाधिवेशनमा कम्तीमा ६०प्रतिशत बहुमत ओलीको नै हुनेछ ।
एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र सौराहामा भएको थियो।
मौजुदा केन्द्रीय कमिटीको कार्यकाल पाँच वर्षका लागि भए पनि एमालेले एक वर्षअगावै महाधिवेशन गर्न लागेको हो।
एमालेले दोस्रो विधान महाधिवेशन गरेर नीति र विधान तय गरिसकेको छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको थियो।
एमालेको ११ औं महाधिवेशन नेतृत्व महाधिवेशन हो। यसले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
प्रतिक्रिया