बाढी–पहिरो जोखिमबीच सतर्क रहन र सरकारी सेवा लिन प्रधानमन्त्रीको अपिल

काठमाडौं १८ असोज । देशभर अविरल वर्षा भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेकी छिन्।

शनिबार साँझ देशबासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अझै दुई दिनसम्म लगातार वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र कटानको जोखिम थप बढ्न सक्ने चेतावनी दिएकी छिन् ।

प्रधानमन्त्रीले भनिन्, “हाल नदी नालाहरुको बहाव उच्च सतर्कताको तहमा पुगेको छ र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।”

उनले नागरिकहरुलाई आश्वस्त पार्दै सरकारका सम्पूर्ण निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ पूर्ण तयारीमा रहेको जानकारी दिएकी छिन्। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी र अन्य सेवादायी निकायहरु आपतकालीन सेवामा २४ सै घण्टा खटिएका छन् ।

प्रधानमन्त्रीले भनिन, “हामीले सबै उपलब्ध स्रोतहरु परिचालन गरेका छौँ र राष्ट्रिय तथा स्थानीय निकायहरुसँग मिलेर कार्य गरिरहेका छौँ । महत्वपूर्ण राजमार्ग तथा अन्य पूर्वाधारहरुको सक्रिय निगरानी भइरहेको छ र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरु पुनः खोल्न प्राथमिकता दिइनेछ ।”

उनले नागरिकहरुलाई अनावश्यक यात्रा नगर्न, डुबान वा पहिरो प्रभावित क्षेत्रमा सवारीसाधन चलाउन वा हिँडडुल गर्न निषेध गर्न आग्रह गरिन। “तीव्र बहाव, डुबान र अस्थिर सडकहरुको खतरा अत्यधिक छ । तपाईं जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहोस् र अरुलाई पनि सावधानी अपनाउन प्रेरित गर्नुहोस्,” प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले जोखिमपूर्ण भूभागमा बसोबास गरिरहेका नागरिकहरुलाई ज्यान र धनको सुरक्षा गर्न विशेष सावधानी अपनाउन आग्रह गर्दै प्रहरी र विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक सूचनालाई ध्यानपूर्वक पालन गर्न अनुरोध गरेकी छिन् ।

विपद् जोखिमको आकलन गर्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको समेत प्रधानमन्त्रीले सम्बोधनमार्फत जानकारी दिएकी छिन् ।

“हामी तपाईंहरुको चिन्ता र कठिनाइलाई बुझ्छौँ । तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत र निकायहरु तपाईंहरुसँग छन्,” प्रधानमन्त्रीले भनेकी छिन्, “हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ र नागरिकहरुको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्नेछौँ ।”

प्रधानमन्त्रीले सबै नागरिकलाई सतर्क, संयमित र सुरक्षित रहन आग्रह गरेकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति