काठमाडौं १८ असोज । शुक्रबार रातीदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णालीबाहेक बाँकी सबै प्रदेशमा पानी परिरहेको हो।
‘कोसीका एक–दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, उनले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्र पानी परेको छैन।’
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,
आज दिउँसो : देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका अधिकांश स्थान, लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
प्रतिक्रिया