काठमाडौं १३ असोज । चीनका पूर्वकृषिमन्त्री ताङ रेनजियानलाई घुसखोरीको आरोपमा मृत्युदण्डको सजाय
काठमाडौं । चीनका पूर्वकृषि तथा ग्रामीण मामिलामन्त्री ताङ रेनजियानलाई घुसखोरीको आरोपमा जिलीन प्रान्तको एक अदालतले आइतबार मृत्युदण्डको सजाय सुनाएको छ । तथापि, यसको कार्यान्वयन दुई वर्षका लागि स्थगित गरिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले दिएको हो ।
सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा नगद र सम्पत्तिसहित ४३ करोड ७६ लाख अमेरिकी डलरभन्दा बढी मूल्यको घुस लिएको प्रमाणित भएको छ ।
चाङ्चुन मध्यवर्ती जनअदालतमा उनले आफ्नो अपराध स्वीकार गरेकाले उनको मृत्युदण्डको सजायलाई दुई वर्षका लागि निलम्बन गरेको सिन्ह्वाले जनाएको छ ।
भ्रष्टाचारविरोधी निकायले अनुसन्धान सुरु गरेको ६ महिनापछि र पदबाट हटाइएको लगत्तै चीनको कम्युनिस्ट पार्टीले नोभेम्बर २०२४ मा ताङलाई निष्कासित गरेको थियो ।
ताङमाथि भएको यो अनुसन्धान असामान्य रूपमा तीव्र गतिमा गरिएको बताइएको छ । यसबाहेक रक्षामन्त्री ली शाङ्फु र ताङका पूर्ववर्ती वेई फेङ्हेमाथि भएका यस्तै अनुसन्धानहरू पछि भएको हो ।
राष्ट्रपति शी जिनपिङले २०२० मा चीनको आन्तरिक सुरक्षा निकायमा शुद्धीकरण अभियान सुरु गरेका थिए, जसको उद्देश्य प्रहरी, अभियोजनकर्ता र न्यायाधीशहरूलाई पूर्ण रूपमा वफादार, पूर्ण रूपमा शुद्ध र पूर्ण रूपमा विश्वसनीय सुनिश्चित गर्नु थियो ।
आधिकारिक जीवनीअनुसार, ताङ कृषि तथा ग्रामीण मामिलामन्त्रीमा नियुक्त हुनुअघि २०१७ देखि २०२० सम्म पश्चिमी प्रान्त गान्सुका गभर्नर थिए । यसै वर्षको जनवरीमा सीले भ्रष्टाचार चीनको कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो खतरा रहेको र यो बढ्दै गएको बताएका थिए ।
प्रतिक्रिया