
शुभशंकर कँडेल: कुलत (एडिक्सन) शब्द सामान्यतया मनोचिकित्सा वा स्वास्थ्य विज्ञानमा प्रयोग हुने भए तापनि, राजनीतिमा यसले मनोवैज्ञानिक, सामाजिक र व्यवहारिक पक्षहरू पुरस्कार र डोपामिन मार्फत लागूपदार्थको सेवनले मस्तिष्कमा डोपामिन (खुशीको हर्मोन) रिलीज गर्छ, त्यसैगरी राजनीतिक गतिविधिमा संलग्न हुँदा पनि व्यक्तिले शक्तिशाली मनोवैज्ञानिक पुरस्कारहरू पाउने अभिलासालाई अघि ल्याउँछ ।
राजनीतिले शक्ति प्राप्तिको अवसर दिने हुनाले यो आफैँमा उच्च स्फूर्तिदायी (इयुफोरिक) हुनसक्छ। कुनै राजनीतिक दल वा विचारधारामा गहिरो रूपमा संलग्न हुँदा व्यक्तिले आत्म–पहिचान र एउटा ठूलो समूहको सदस्य भएको भावना प्राप्त गर्नु स्वभाविक हो । मानिसहरुलाई राजनीतिक उद्देश्यका लागि काम गर्दा जीवनलाई अर्थपूर्ण र उद्देश्यपूर्ण बनाएको महसुस हुन्छ।
कुलत लागेको व्यक्तिहरुले जसरी आफ्नो नियन्त्रण गुमाउँछन्, त्यसैगरी राजनीतिक कुलत लागेका व्यक्तिहरूले पनि आफ्नो समय, ऊर्जा र स्रोत अनियन्त्रित रूपमा राजनीतिमा लगाउँछन्। यसले उनीहरूको व्यक्तिगत जीवन, परिवार र करिअरलाई बेवास्ता गर्ने मात्र होइन, सिंगो परिवारलाई परजीवीमा परिणत गरिदिन्छ ।
कुलतको एक प्रमुख लक्षण नकारात्मक परिणामहरू स्पष्ट हुँदाहुँदै पनि सोहीखाले व्यवहार दोहोर्याइरहनु हो। राजनीतिक कुलतमा लागेका व्यक्तिहरूले आफ्नो स्वास्थ्य बिग्रँदा, पारिवारिक सम्बन्ध टुट्दा वा आर्थिक नोक्सान हुँदा पनि राजनीतिक मोह र पद त्याग्न सक्दैनन्।

राजनीतिक कुलतलाई सैद्धान्तिक र व्यवहारिक दुई मुख्य वर्गमा राख्नु उपयुक्त देखिन्छ । सैद्धान्तिक पक्षका सन्दर्भमा शक्ति कुलत अर्थात् म्याकेभेलीवाद र नार्सिसिज्मले शक्ति प्राप्त गर्ने र कायम राख्ने कार्यलाई नै जीवनको प्रमुख उद्देश्य मान्छ। नेताहरू जो पदबाट हटेपछि पनि शान्त बस्न सक्दैनन् र सधैँ षड्यन्त्र वा विद्रोहमा तल्लीन रहन्छन् ।
विचारधारामा कुलतको संज्ञानात्मक विसङ्गति) भनेको समूह चिन्तनसँग सम्बन्धित हुन्छ । यसमा व्यक्तिले आफ्नो विचारधारालाई मात्र सत्य मान्छ र त्यसको विरुद्धमा आउने सबै प्रमाणलाई बेवास्ता गर्ने मात्र होइन, जाइलाग्छन् । अर्को शब्दमा कट्टरपन्थी कार्यकर्ताहरुले आफ्नो दलको हरेक निर्णयलाई सही ठान्छन्, चाहे त्यो तर्कहीन होस् वा नैतिक रूपमा गलत नै किन नहोस् ।
मिडिया र सामाजिक सञ्जालको भूमिका
निरन्तर खुराकका रुपमा सामाजिक सञ्जाल र २४ सै घन्टा चल्ने समाचार च्यानलहरूले राजनीतिक जानकारी र छलफलको निरन्तर आपूर्ति गरिरहन्छन्। यसले व्यक्तिलाई राजनीतिक घटनाक्रमबाट छुट्टिन नदिने वातावरण सिर्जना गर्छ। निर्धारित पूर्वाग्रह (कन्फर्मेशन बायस) का रुपमा सामाजिक सञ्जालका एल्गोरिदमहरूले व्यक्तिलाई मनपर्ने विचार वा विचारधाराको मात्र सामग्री पस्किदिन्छन् । यसले राजनीतिक कुलतलाई थप उद्धेलित बनएर व्यक्तिले आफू सही भएको महसुस गरिरहन्छ, जसले गर्दा उसले आफ्नो अडानमा पुनर्विचार गर्नुपर्दैन।
डोपामिनको तत्काल प्रतिक्रिया भनेको नै राजनीतिक पोस्टमा ‘लाइक’, ‘शेयर’ वा ‘कमेन्ट’ आउँदा तत्काल सामाजिक प्रतिक्रिया प्राप्त हुन्छ, जसले कुलतको चक्रलाई निरन्तरता दिन्छ। राजनीतिक कुलतले राजनीतिक ध्रुवीकरण मार्फत समाजलाई थप विभाजित र इश्र्यालु बनाउँछ, जब व्यक्तिले आफ्नो राजनीतिक दल वा समूहलाई मात्र जीवनको अर्थ ठान्छ, तब उसले विरोधी समूहलाई शत्रु को रूपमा हेर्छ। यसले ‘हामी बनाम उनीहरू’भन्ने दुश्मनीपूर्ण सोचलाई थप गहिरो बनाउँछ। शक्तिमा कुलत लागेका नेताहरूले लोकतान्त्रिक नियम र संस्थाहरूलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न खोज्छन्। उनीहरू आफ्नो पद र शक्ति कायम राख्नका लागि निर्वाचन धाँधली, विरोधीलाई दमन र संवैधानिक मूल्यमान्यतालाई कमजोर पार्नुका अतिरिक्त आजीवन पार्टीका पदहरुमा टाँसिइरहन जे पनि गर्न तयार बन्छन् ।
राजनीतिक कुलतले व्यक्तिलाई आक्रामक वा अतिवादी बनाउनु स्वभाविक छ । जब राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि अरू सबै कुरा गौण हुन्छन्, तब हिंसा, धम्की र गैरकानूनी कार्यहरूलाई पनि ‘आवश्यकता’ को रूपमा स्वीकार गर्न सकिन्छ। सन् २०२१ मा अमेरिकामा भएको क्यापिटल हिल हमलादेखि हालै नेपालमा भएको जेनजी प्रदर्शनका अतिमा भएको आगजनी र तोडफोड सवैभन्दा विभत्स प्रहसन हो ।
समकालीन विश्वमा केही नेताहरूले आफ्ना समर्थकहरूमाझ ‘कुलत’ जस्तै मोह सिर्जना गरेका छन्। यी नेताहरूले आफ्ना समर्थकहरूको भावनात्मक आवश्यकताहरूलाई उपयोग गरेर उनीहरूलाई एक विशेष समूहको सदस्य भएको महसुस गराउँछन् र उनीहरूको असन्तुष्टि वा रिसलाई आफ्नै राजनीतिक स्वार्थमा बदल्छन्। यसले नेतालाई ‘उद्धारकर्ता’ र दललाई ‘धर्म’ को रूपमा स्थापित गर्न मद्दत गर्छ। यसको ज्वलन्त उदाहरण नेपालका मुख्य दलहरु त्यसमा पनि एमाले र त्यसका अधिपति केपी शर्मा ओली सवैभन्दा अग्रपंक्तिका नमुना हुन् भन्नु अतिशयोक्ति हुनेछैन ।

राजनीतिक कुलत एउटा यस्तो जटिल व्यवहारिक ढाँचा हो जसले व्यक्तिलाई शक्ति वा विचारधाराको अनियन्त्रित खोजीमा धकेल्छ। सैद्धान्तिक रूपमा यो मनोवैज्ञानिक पुरस्कार प्रणाली, पहिचानको आवश्यकता र समूह–आधारित सोच बाट निर्देशित हुन्छ। समकालीन वैश्विक सन्दर्भमा, सामाजिक सञ्जालको निरन्तर पहुँच र राजनीतिक ध्रुवीकरणले यस कुलतलाई थप बढावा दिएको छ, जसले गर्दा लोकतान्त्रिक मूल्यमान्यताहरू जोखिममा पर्न सक्छन्। यसको पहिचान र नियन्त्रण आधुनिक नागरिक शिक्षा र स्वस्थ राजनीतिक वातावरणका लागि अत्यावश्यक छ।
राजनीतिक भ्रष्टाचारको रुपमा कुलत
राजनीतिक भ्रष्टाचार अर्थात् सार्वजनिक पद वा शक्तिको दुरुपयोगमार्फत निजी लाभका लागि लोकतन्त्रको मूल्यहरूमाथिको दाईँ हो । राजनीतिक तथा लाभको ‘पदप्रतिको आशक्ति’ ले नेताहरूलाई शक्तिको लोभमा फसाउनुसाथै नैतिकरुपले पतित बनाउँद्ध । यसखाले वैश्विक समस्या विशेषगरी विकासशील देशहरूमा डरलाग्दोगरी झाँगिएको छ । विभिन्न अनुसन्धानहरूले देखाएअनुसार राजनीतिक कुलतले आर्थिक असमानतालाई शिखरतर्फ चढाएर लोकतन्त्रलाई कमजोर बनाउँछ भने सामाजिक विश्वासलाई ध्वस्त पार्छ।
सैद्धान्तिक सन्दर्भ
राजनीतिक कुलतको सैद्धान्तिक आधारबारे प्लेटोको रिपब्लिक मा उल्लेखित ‘नोक्राट्सी’ (शासनको विकृति) भनिएको छ । शक्तिको दुरुपयोगले लोकतन्त्रलाई कुलतपूर्ण तानाशाहीतर्फ लैजान्छ। प्लेटोका अनुसार, नेताहरूको पदप्रतिको आशक्तिले नैतिक गुणहरूलाई नष्ट गर्छन्। अरिस्टोटलको प्रसिद्ध कृति पोलिटिक्स मा कुलतलाई ‘संविधानको विकृति’ भनिएको छ ।यसको अर्थ सार्वजनिक हितलाई निजी स्वार्थले प्रतिस्थापन गर्नु हो । नेपालमा पछिल्लो समय गणतान्त्रिक व्यवस्थामा नेताहरुले जनताको आशा र विश्वासमाथि खेल्दै यही चक्रमा लिप्त बन्दै आएका छन् ।
आधुनिक दर्शनमा निकोलो म्याकियावेलीको द प्रिन्स ले शक्तिको व्यावहारिक दुरुपयोगलाई सवैभन्दा सुन्दर ढंगले उजागर गरेको छ । म्याकियावेली भन्छन्, “एक दुष्ट नागरिकले गणतन्त्रमा दुष्ट काम गर्न सक्दैन, तर शक्तिको लोभले नैतिकतालाई कमजोर बनाउँछ।’ यसले पदप्रतिको आशक्तिलाई शासनको आवश्यक भाग बनाए कुलत(अम्मली बनाइदिन्छ । दार्शनिक लर्ड एक्टनको प्रसिद्ध भनाइ छ —“शक्तिले भ्रष्ट बनाउँछ र पूर्ण शक्तिले सम्पूर्ण रुपमै भ्रष्टाचारी बनाउँछ ।’ एक्टनका अनुसार, महान् व्यक्तिहरू पनि शक्तिको प्रभावले दुष्ट बन्न सक्छन्। नेपालका कतिपय महान् क्रान्तिकारी र बलिदानीपूण संघर्षबाट उदाएका नेताहरु नैतिकरुपले स्खलति हुने विडम्वना आइपुगेका कारणा भनेको तिनीहरुले नेतृत्व गरेका पार्टीमा निर्विकल्प जस्तै बन्ने र बनाइएको अवस्था नै हो ।
समसामयिक दार्शनिक विश्लेषणमा, स्ट्यानफोर्ड इनसाइक्लोपिडिया अफ फिलोसफीले कुलतलाई ‘नैतिक विकृति’ भनेको छ । यसको अर्थ एकल कार्यबाट संस्थागत प्रक्रियासम्म फैलिनु हो । अर्थात् राजनीतिक कुलत एक संक्रामक महामारी हो । । यसरी ’शक्तिको नैतिक–पावर लिङ्क’ को रूपमा अवलम्वन गरेर सार्वजनिक कर्तव्यलाई निजी लाभमा परिणत गरिन्छ ।
राजनीतिशास्त्रीहरूको धारणा
राजनीतिशास्त्रीहरूले कुलतलाई सम्बन्धगत अन्याय ठहर गरेका छन् । क्याम्ब्रिज जर्नल अफ सोसल फिलोसफी एन्ड पोलिसीका अनुसार, राजनीतिक कुलतले सार्वजनिक पदको दुरुपयोगबाट निजी लाभमा निर्लिप्त बनाउनको कारणले लोकतन्त्रलाई कमजोर बनाउँछ। पदप्रतिको आशक्तिले ‘स्लिपरी स्लोप’ सिर्जना गर्दा सानो दुरुपयोगबाट ठूलो भ्रष्टाचारमा छलाङ मार्न पुग्छ ।
ब्रेनन सेन्टरका अनुसन्धानकर्ताहरूले सन् २०२५ मा अमेरिकी सुप्रिम कोर्टको निर्णयलाई आलोचना गर्ने कारणमा कुलतको कानुनी परिभाषालाई साँघुरो बनाएको भन्ने चिन्तामा केन्द्रित छ । यसले राजनीतिक कुलतलाई बढावा दिएको उनीहरूको मत छ। युरोपेली जर्नल अफ इन्टरनेशनल लअ’ ले कुलतलाई ’रणनीतिक कुलत’ (strategic adiction) को रूपमा विश्लेषण गर्दै राज्यहरूले भू–राजनीतिक हितका लागि कुलत प्रयोग गर्ने सनसनीपूणं व्याख्या गरेको देखिन्छ ।
मनोविद्हरूको दृष्टिकोण
मनोविज्ञानमा, शक्तिको प्रभावलाई ’पावर–करप्शन लिङ्क’ को रूपमा हेरिन्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका प्रोफेसर डाचर केल्टनरका अनुसार, “शक्तिले भ्रष्ट बनाउँछ किनकि यसले मानिसहरूलाई स्वार्थी बनाउँछ।“ उनीहरूको अनुसन्धानले भन्छः शक्तिमा रहेकाहरूले नैतिक निर्णयहरूमा पूर्वाग्रह देखाउने हुनाले पदप्रतिको आशक्तिलाई बढाउँछ।
साइन्सडाइरेक्ट जर्नलको अध्ययनले शक्तिले ‘असमानता अवधारणा’ का रुपमा व्याख्या गर्दै सामाजिक समझलाई भ्रष्टीकरण गर्ने उल्लेख गरेको छ । यद्यपि शक्तिले स्वतः भ्रष्ट गर्ने होइन कि शक्ति र सत्तालाई नियन्त्रण र सन्तुलनको अभावले हुने रोग हो । जर्नल अफ न्यूरोसाइन्स, साइकोलोजी एन्ड इकोनोमिक्सका अनुसार, शक्तिले मस्तिष्कको नैतिक भागलाई प्रभावित गर्दछ । नेपालमा अहँकारी व्यक्तिका रुपमा सुनामधन्य केपी ओलीमा भएको यही हो । सामाजिक मानसिकतामा ’सोसलाइज्ड पावर’ ले कुलतलाई घटाउँछ, ’पर्सनलाइज्ड पावर’ ले कुलतकारी बनाउँछ । ओलीमा देखिएको पछिल्लो प्रवृत्ति हो ।

पश्चिमा राजनीतिज्ञहरूले कुलतलाई लोकतन्त्रको शत्रु ठानेका छन्। अमेरिकी पूर्वराष्ट्रपति थियोडोर रूजभेल्टले भनेका छन्, “कुनै भ्रष्ट व्यक्ति वा अरूको भ्रष्टाचारलाई सहन गर्ने व्यक्ति समुदायप्रतिको कर्तव्य पूरा गर्न सक्दैन।’ यो भनाई ठ्याक्कै नेपालका प्रमुख टाउके नेताहरुलाई नै ताकेर भनेजस्तो प्रतित हुन्छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार, “युवाको कर्तव्य कुलतलाई चुनौती दिनु हो।“ तर नेपालका प्रमुख राजनीतिक दलका युवा भनिएको नेताहरु दास र झोले हुनुमा गर्व गर्न लाज नमान्ने विडम्वना प्रहसन हुँदै आएको छ । भारतीय सामाजिक अभियन्ता अन्ना हजारेले एक सन्दर्भमा भनेका छन्, “मानिसहरूले बुझ्नुपर्छ कि उनीहरूले भ्रष्ट प्रणालीलाई परिवर्तन गर्न सक्छन्।“

एक्स (ट्विटर)मा पाद्री युजिन चोले सन् २०२४ मा लेखेका छन्, “मलाई विश्वास छ कि चर्चमा हामीले कम स्पटलाइट, फग मेसिन, फर्मुला, सेलिब्रेटी कल्चर, राजनीतिक शक्तिप्रतिको आशक्ति… र बढी विनम्रता र पवित्र आत्माको उपस्थिति र शक्तिमा निर्भरता चाहिन्छ।“
सन् २०२० देखि २०२५ सम्मका अनुसन्धानहरूले राजनीतिक कुलतको वृद्धिलाई उजागर गर्ने क्रममा ब्रुकिङ्स इन्स्टिट्युसनको सन् २०२५ को रिपोर्टले अमेरिकी लोकतन्त्रलाई कुलतको जोखिममा रहेको भन्दै, यसले आर्थिक असुरक्षा र सामाजिक विभाजन निम्त्याउने चेतावनी दिएको छ। यो महामारीको वैश्विक लोकतन्त्रमा प्रभाव देखिनु त स्वाभाविक नै हुने भयो ।
वल्र्ड बैंकको ‘पार्टनरशिप्स फर एन्टिकरप्शन ग्लोबल फोरम २०२५’ ले साझेदारीमार्फत कुलतविरुद्ध लड्न आह्वान गरेको छ । होगन लभेल्सको सन् २०२५ रिपोर्टले चुनावी परिवर्तनहरूले एन्टि–करप्शन प्रवर्तनलाई प्रभावित गर्ने भन्दै, यो वर्षलाई ‘परिवर्तनको वर्ष’ भनेको छ। यसको अर्थ नेपालमा भर्खरै घटित दुर्घटनाबाट थप शिक्षा लिएर आगामी दिन र चुनावलाई परिवर्तनको अवसर बनाउन सकिन्छ कि सकिंदैन भन्ने हाम्रा अगाडि गम्भीर चुनौति छ । हामी नेपाली जनता र विशेषत मतदाता महान् झोले बन्ने कि स्वाभिमानी नागरिक भन्ने छनोटको समय हाम्रा अगाडि खडा छ ।
इन्टरनेशनल आइडियाको ‘कम्ब्याटिङ करप्शन इन पोलिटिकल फाइनान्स’ ले राजनीतिक वित्तमा कुलतलाई उच्च प्रोफाइलका नेताहरूमा केन्द्रित रहेको असाध्यै सान्दर्भिक विश्लेषण गरेको छ । यसो हुनुमा नियमनका कमीहरूलाई मुख्य कारण ठानिएको छ । सन् २०२४ को इकोन जर्नलले मानव अधिकार र कुलतबीचको सम्बन्धलाई विश्लेषण गर्दै, भ्रष्ट सरकारहरूले अधिकारहरूलाई कुलतविरुद्धको हतियार बनाउने देखाएको छ।

राजनीतिक कुलत र पदप्रतिको आशक्ति शक्तिको दुरुपयोगबाट उत्पन्न हुन्छ, जसलाई दार्शनिकहरूले नैतिक विकृति, राजनीतिशास्त्रीहरूले संस्थागत असफलता र मनोविद्हरूले मनोवैज्ञानिक पूर्वाग्रहको रूपमा औंल्याएका छन् । यो वैश्विक चुनौती भएकाले हाम्रो लागि सवैभन्दा डरलाग्दो खतरा हो । नेपालमा राजनीतिक नेताहरु आजीवन पद र सत्ता तथा शक्तिमा मरिहत्ते गर्ने अम्मली प्रवृत्तिलाई चुनावमार्फत नै परास्त गर्नु पर्छ, र गर्न सकिन्छ । यसका लागि हरेक तह र क्षेत्रमा पारदर्शिता, सशक्तिकरण र नैतिक शिक्षाको अभ्यासले ती सत्ता अम्मलीहरुलाई यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने हो । यसका लागि आमरुपले जनचेतनाको महत्व सर्वाधिकरुपले महत्वूर्ण बन्छ नै । अन्ततः, कुलतविरुद्धको लडाइँ सामूहिक जिम्मेवारी हो, यो लडाईंमा विजय प्राप्त गर्न सकेमात्र स्वस्थ लोकतन्त्र निर्माण गर्न सकिनेछ । त्यो भनेको एकपटक मात्र नभएर पटक पटक असफल सावित हुनेमात्र होइन, बेइमान प्रमाणितहरुलाई निर्ममतापूर्वक निर्वाचनमा परास्त गर्नु पर्छ । हरेक पार्टीभित्र नयाँपन युवा सहभागिताको बृद्धि र विस्तारलाई एक अभियानको रुपमा अघि बढाउनु आवश्यक छ ।
प्रकाशितः २०२५ असोज ९ गते विहीबार
प्रतिक्रिया