प्रविधिको आलोकमा जेन–जी आन्दोलन

  • ओलीको सचिवालयका बिचौलियाले मेटाको आधिकारिक एजेन्सी प्राप्त गर्न असफल भएपछि ओली र उनका सञ्चारमन्त्रीलाई अघि सारेर सबै सोसल साइट नै बन्द गराउने प्रपञ्च रचिएको थियो।

आश्विन १०, २०८२ 

Subhashankar Kandel

शुभशंकर कँडेल

नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् । 

The Gen-G movement in light of technology

समकालीन राजनीतिक जीवनको मूल चुनौती भनेको निश्चित तरिकाले मतदान गर्नका लागि निश्चित प्रकारको काम गर्ने मानिसलाई कसरी प्रेरित गर्ने भन्ने नै हो । यसबारेमा असल नेताहरूले मानिसलाई उज्ज्वल भावनाहरू– आशा, आकांक्षा, सुन्दर जीवनबारेका प्रेरणादायी दृष्टिकोणमार्फत प्रेरित गर्छन् । तर अचेल र सम्भवतः सधैं, राजनीतिक स्पेक्ट्रमभरका नेताहरूले अन्धकारपूर्ण आक्रोशित भावनालाई उत्तेजित गर्न धेरै सजिलो बाटो समात्दै आएको वैश्विक आयाम देख्न सकिन्छ ।

यसलाई मनोवैज्ञानिकहरूले नकारात्मकतापूर्ण पूर्वाग्रह भन्छन् । यही उपक्रममा सन् २०११ मा विश्व पुँजीवादको नाभी न्युयोर्कबाट सुरु भएको अकुपाइ आन्दोलन वैश्विक लहरसँगै र्‍याडिकल रूपमा विकेन्द्रित ‘नेतृत्वहीन’ सामाजिक आन्दोलनबारे राजनीतिक चासो आकर्षित गरेको थियो ।

सन् २०११ को विरोधलाई डिजिटल युगका लागि पूर्ण रूपमा नयाँ प्रकारको राजनीतिक अभियानसमेत भनियो । यसलाई कम प्रतिनिधित्व भएका मानिसलाई ‘आवाज दिने’ माध्यमका रूपमा वा ‘हाइब्रिड आन्दोलन’ देखि अझै अघि बढेर ‘पूर्ण सेवाकेन्द्रित आन्दोलन’ सम्मका नामले पुकारिएको छ । क्रान्तिकारी सम्भावना अझै अपूर्ण रहेको ‘फ्ल्यास आन्दोलन’ का रूपमा धेरै विद्वान्ले विश्वभरका अकुपाइ आन्दोलनको संश्लेषण गर्ने उद्यम जारी राखेका छन् । 

सन् २०११ पछिका वर्षमा अकुपाइ आन्दोलनहरूको राजनीतिक वा ऐतिहासिक महत्त्वका बारेमा निरन्तर बहस भएको छ । नेतृत्वविहीन आन्दोलनसँग संगठित रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने संरचनात्मक गुणहरूको अभाव स्वाभाविक छ । अकुपाइ शैलीका आन्दोलनले कथित नेतृत्वहीनता र सहभागी लोकतन्त्रको निर्णय प्रक्रियाको कारणले महत्त्व प्राप्त गरेको तथ्यलाई बेवास्ता गर्न नसकिने वास्तविकता बन्दै छ ।

बारम्बार आह्वानहरूका बाबजुद, सामाजिक आन्दोलनहरूभित्र नेतृत्वको समस्याग्रस्त आयाम नसुल्झिएको नयाँ क्षेत्र बढ्दो रूपमा प्रकट हुने क्रममा नेपालमा जेन–जी विस्फोट उद्घाटित भएको छ । यो आन्दोलनमा कोही पनि नेता थिएन, सबै नेता थिए । सन् २००० को दशकको सुरुमा इन्टरनेट फोरमहरूमा प्रयोग हुने एउटा साझा ‘ट्रोल’ समूहबाट विकसित हुँदै सन् २००८ पछि एउटा संगठित ‘ह्याक्टिभिस्ट’ (ह्याकिङ र एक्टिभिजम) समूहका रूपमा देखिन थालेको थियो ।

यो समूहले ज्ञानका लागि ज्ञान, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको खुला प्रवाहजस्ता लोकप्रिय बनेका मानवीय आवश्यकताका अनिवार्य जीवनशैलीलाई पछ्याउँछ । ‘ह्याक्टिभिजम’ लाई वेबसाइट डिफेसमेन्ट, सूचना चोरी, वेबसाइट प्यारोडी, डिनायल–अफ–सर्भिस आक्रमण, भर्चुअल सिट–इन र भर्चुअल तोडफोडजस्ता ‘गैरकानुनी वा कानुनी रूपमा अस्पष्ट डिजिटल उपकरण’ को राजनीतिक उद्देश्यका लागि अहिंसात्मक प्रयोगका रूपमा परिभाषित गरिएको छ (बार युसेफ एन, साइबर क्राइम, २०१०) । 

अहिले एक्स, टेलिग्राम, डिस्कर्ड, टिकटक र रेडिटजस्ता प्लाटफर्महरू मुख्य रूपले विश्वव्यापी र भूराजनीति स्वार्थ साध्ने अस्त्रका रूपमा प्रयोग भइरहेका छन् । यस्ता प्लाटफर्महरूले मोडरेसन र सरकारी निगरानीको जोखिमलाई बढाउँदै जाँदा वैयक्तिक स्वतन्त्रतासमेत अकल्पनीय रूपले जोखिममा पर्दछ । नेपालको पछिल्लो घटनाले झन्डै यही त्रासलाई व्यावहारिक रूप दिनै लाग्दा राष्ट्रपति रामचन्द्र पौडेलको शब्दमा ‘अनेक जुक्ति’ जोगिन पुगेको छ । 

सामाजिक सञ्जालले जेन–जी आन्दोलनका लागि स्नायु प्रणालीका रूपमा काम गर्ने शैलीलाई विशेषगरी डिस्कर्ड, एक्स र रेडिटजस्ता प्लाटफर्महरूले ह्यासट्यागहरू (जस्तैः अपयुक्रेन, फ्रि–प्लोस्टाइन र नेपालमा एगेन्स्ट करप्सन) मार्फत आफ्नो अभियानमा ऊर्जा भरेका थिए । गुमनाम प्रयोगकर्ताहरूले मेनिफेस्टो–एजेन्डा पोस्ट गर्नेदेखि लक्षित व्यक्तिहरूको डेटा चोर्न (डक्सिङ) स्वयंसेवकलाई आकर्षित गरेका थिए ।

प्लाटफर्महरूले विरोध प्रदर्शनलाई ‘भाइरल मेनिफेस्टो’ (विरोधका लागि घोषणापत्र) भनेको छोटो, प्रभावकारी भिडियो वा थ्रेडहरूमार्फत भ्रष्टाचारका प्रमाणहरूको चर्को अपिलद्वारा युवाहरूलाई सडकमा उतार्न उत्प्रेरित गर्न सफल भएका छन् । सामाजिक सञ्जालमा क्रस–पोस्टिङ भाइरल बनाएर त्यस्ता अभियानलाई उत्तेजित बनाउनु त सामान्य नै भइहाल्यो ।

नेपालमा कथित भ्रष्टाचारविरोधी भनिएको अभियानमा यही शैली अपनाइएको थियो । सन् २०२४ देखियता विश्वव्यापी ‘ह्याक्टिभिस्ट’ हरूले टिकटकको एल्गोरिदमिक ‘फ्ल्यासमब’ को प्रयोगद्वारा जेन–जीलाई विरोध प्रदर्शनका लागि सहभागी गराउँदै अनलाइन समन्वयलाई अफलाइन विस्फोटसँग मिश्रण गर्न सफल भएको देखिन्छ । काठमाडौंमा विद्यार्थीहरूले ‘भ्रष्टाचारको अन्त्य गर’ भन्दै ह्यासट्याग करप्सन फ्री नेपाल वा जेन–जी रिभोलुसनलगायतका रिल बनाएका थिए ।

यिनले सरकारी भ्रष्टाचारका मीमहरू, एनिमेसनहरू र प्रत्यक्ष सडक प्रदर्शनका आक्रोशित दृश्यलाई थप आकर्षक तरिकाले फैलाइएका थिए । त्यसको प्रतीकात्मक आगोको कहिल्यै समन नहुने झिल्को जसरी ‘नेपोकिड्स’ बारेको एक रिलले २४ घण्टामा १८.५ मिलियन भ्युज पाएबाट हजारौंलाई सडकमा उतार्न प्रेरित गर्नु स्वाभाविक थियो ।

एक जेन–जी कार्यकर्ताले ‘ह्यासट्याग ओलीडाउन’ थ्रेडमा सरकारी भ्रष्टाचारका १० वटा प्रमाण पोस्ट गर्दा ५० हजारभन्दा बढी रि–ट्वीट देखिनुले यसको डढेलोसरी प्रभाव अनुमान गर्न सकिन्छ । थ्रेडहरूले लिंकहरू साझा गर्दै टिकटक भिडियोहरूमा डाइरेक्ट गरेर क्रस–प्लाटफर्म प्रवर्धन गरिरहे । प्लाटफर्महरूले विरोधलाई ‘भाइरल’ बनाउँदा उनीहरूको एल्गोरिदमले भावनात्मक रूपले आक्रोशपूर्ण चर्का सामग्रीलाई प्राथमिकता दिन्छ, जसले दैनिक १० लाखभन्दा बढी भ्युज उत्पन्न गरेको थियो (दि हिन्दु, १३ सेप्टेम्बर) ।

सामाजिक सञ्जालले ‘बर्नर’ प्रोफाइलहरूलाई इन्क्रिप्टेड लिंकहरू साझा गर्ने सुविधा दिएर थप सहज बनाइदिएका छन् । अज्ञात उत्तेजित समूहहरूले ‘हामी लिजन हौं’ भन्ने कुरालाई मात्र चर्को गरी उठाउँछन् । यस्ता अभियानमा कुनै एकल अनुहारले समूहलाई प्रतिनिधित्व नगर्ने हुँदा गिरफ्तारीको जोखिम पनि कम हुन्छ ।

यसले जेन–जी पुस्ताको निर्भयताको आक्रोशलाई अरू बढी उद्वेलित गर्दछ । हालैका एक्स पोस्टहरूले ‘अफटिकटक’ (टिकटकको गुमनाम पहुँचका लागि) वा सिग्नलजस्ता सुरक्षित सन्देश उपकरण सिफारिस गर्दै आएका छन् । प्रदर्शनकारीहरूले सरकारी भवन, निजी निवासमाथि आक्रमण गरिरहँदा लाइभ–ट्वीटिङ वा डिस्कर्ड स्ट्रिमहरूले अपडेट गरेर ‘डीडीओएसको वृद्धिलाई—एलओआईसी फोर्कमार्फत ‘सहभागी होऊ’ भन्ने आह्वान गरिरहेका थिए ।

२०२५ जुनमा इजरायल–इरान तनावका बीच ह्याक्टिभिस्ट गतिविधि ४६ प्रतिशतले बढेको थियो । एनोनिमस–सुडानजस्ता प्रो–प्यालेस्टिनियन समूहहरूले मेनिफेस्टोका लागि एक्स र इजरायली साइटहरूमा डीडीओएस समन्वयका लागि डिस्कर्ड प्रयोग गरेका थिए । ‘जोम्बी बट्नेटहरू’ (ह्याक गरिएका उपकरणहरू) सामाजिक सञ्जाल अपिलमार्फत भर्ती गरिएको थियो ।

सन् २०२४ मा इरानसम्बद्ध ह्याक्टिभिस्टहरूले अमेरिकी रक्षा डेटा टेलिग्राममा चुहाइदिएपछि विश्वव्यापी आक्रोश व्यक्त गर्न एक्समा क्रसपोस्ट गर्ने शैली अपनाएका थिए । ह्याकफर गाजाजस्ता ह्यासट्यागहरूले ५ लाखभन्दा बढीको संलग्नता र स्वयंसेवक आकर्षित गरेको देखिन्छ । अमेरिकामा सिग्डसेक (एलजीबीटीक्युप्लस एनोनिमस) जस्ता समूहले सन् २०२४ मा ट्रम्पनिकट हेरिटेज फाउन्डेसनलाई विच्छेद गरिदिएका थिए । उनीहरूले चोरेका डेटा एक्स र टिकटक भिडियोमार्फत बाहिर ल्याइएको थियो ।

विश्वव्यापी रूपमा सन् २०२४ मा नोनेम–०५७ (१६) जस्ता केही समूहले नेटो सहयोगीलाई लक्षित गरेका थिए भने ‘आइन क्यानन’ डीडीओएस आमन्त्रणका लागि सामाजिक सञ्जालबाट एलओआईसीको प्रयोग गरेका थिए । नेपालको २०२५ जेन–जी आन्दोलनमा भ्रष्टाचारविरोधी कार्यकर्ताले ज्याक डर्सीको ब्लुस्काई (विकेन्द्रीकृत, गुमनाम–अनुकूल) प्रयोग गरी मेस नेटवर्कमार्फत अफलाइन समन्वय गरेका थिए ।

ह्यासट्याग ‘अपडेथइटरर्स’ (पेडोफाइल–हन्टिङ, एनोनिमससँग आबद्ध) जस्ता अधिनायकवादविरोधी अभियान डार्क वेब फोरमहरूमा एक्सबाट प्रवर्धित गरेर चलाइएको थियो । आन्दोलन समन्वय गर्नका लागि प्लाटफर्महरू टेलिग्राम/डिस्कर्ड च्यानलहरू, एक्स स्पेसहरू सञ्चालन योजनाका लागि गुमनाम समूह च्याटहरू एआईमार्फत एजेन्डा ड्राफ्टिङका लागि च्याटजीपीटीहरू प्रयोग भएको उनीहरूकै डिस्कर्ड च्यानलमा प्रयोग भएको शैलीबाट पुष्टि हुन्छ ।

‘रिटेन्सन ह्याक्स’ (टिकटकजस्ता प्लाटफर्महरूको एल्गोरिदमलाई ‘गेम’ गर्ने प्रविधिहरू) ले भिडियोहरूको दर्शक कायम राख्ने समय बढाएर थप दर्शकसम्म पुर्‍याउँछ । टिकटकको एल्गोरिदमले भिडियोको ३ सेकेन्डभित्रै आकर्षक सुरुवात (हुक) र सम्पूर्ण अवधिसम्म हेर्ने (रिटेन्सन दर) ७० प्रतिशतभन्दा बढी छ भने यो ‘फर यू’ पेजमा पुगेर लाखौं दर्शक आकर्षित गर्दछ ।

यसमा हुक र टिजरहरू पनि विशेष हुन्छन् । भिडियोको सुरुमा प्रश्न वा आकर्षक लाग्ने तथ्य राख्ने, जस्तै ‘के तपाईंलाई थाहा छ ओलीले १० करोड कमिसन हान्दिए ?’ एउटा टिकटक भिडियोमा प्रयोग हुँदा यसले ९० प्रतिशत बढी रिटेन्सन दर पाएपछि २ लाख पटक सेयर भएको छ । एनोनिमसले ‘गीकहरूको हतियार’ को बढ्दो आकर्षण जहाँ एक विशेषाधिकार प्राप्त र दृश्य अभिनेताहरूको वर्गद्वारा प्रयोग गरिने राजनीतिको एक रूप बन्दैछ । यस्तो शैली प्रायः आर्थिक जीवनको केन्द्रमा खडा हुन्छन् । एनोनिमसले हरेक सफल कारबाही अघि र पछि प्रचार खोज्ने प्रवृत्ति देखाउँछ ।

ट्रेन्डिङ साउन्ड र ड्युएट पनि भरमार प्रयोग भयो । लोकप्रिय नेपाली गीतहरू– रेशम फिरिरी आदि शैलीअन्तर्गत भ्रष्टाचारका मीमहरू ओभरप्ले गराएर ड्युएट फिचर प्रयोग गरी अर्काको भिडियोमा आफ्नो सन्देश हालियो । यसो गर्दा चेन रिएक्सन भएर काठमाडौंको एउटा साइबर समूहले ह्यासट्याग ‘ब्यान–हटाओ’ ट्रेन्डमा पाँच सयभन्दा बढी ड्युएटहरू उत्पन्न गरेको थियो, जसले गर्दा एल्गोरिदमलाई ‘ट्रेन्डिङ’ बनाउन पुग्यो ।

लुपिङ र इन्ड्लेस एन्डिङ (भिडियोको अन्त्यमा ‘अर्को भाग हेर्नुहोस्’) भन्दै लुप बनाउँदा दर्शकलाई बारम्बार हेर्न बाध्य बनाउँछ । नेपालका मुकुण्डो क्रान्तिका युवाहरूले यही ह्याक प्रयोग गरी सोसल सञ्जाल प्रतिबन्ध विरोधी मेनिफेस्टोहरूलाई ४८ घण्टामा १० लाख भ्युजसम्म पुर्‍याएका थिए । 

एनोनिमसले प्रायः अवस्थित घटनाहरू वा कारणहरूको लहरलाई समात्छ र विस्तार गर्छ । कहिलेकाहीँ यो लहर यति विस्मयकारी हुन्छ कि यसले घटनाको प्रकृति वा दिशालाई नै परिवर्तन गर्छ तर अभियान अन्ततः समाप्त हुन्छ । नेपालमा जेन–जी नामक आन्दोनमा तेल खन्याउने काम अरू कसैले नभएर केपी शर्मा ओली सरकारले नै गरेको थियो ।

कतिसम्म निकृष्टताको हद थियो भने ओलीको सचिवालयका बिचौलियाले मेटाको आधिकारिक एजेन्सी प्राप्त गर्न असफल भएपछि ओली र उनका सञ्चारमन्त्रीलाई अघि सारेर सबै सोसल साइट नै बन्द गराउने प्रपञ्च रचिएको थियो । ओलीको हुकुमी रवाफ र अपमानबाट वाक्कदिक्क भएका नोकरशाहीतन्त्रका मुख्य, मझौला र ओलीकै विश्वासपात्र बिचौलिया ठालुहरूले समेत नोकरशाहीतन्त्र, सुरक्षा संयन्त्र र समाजमा के भइरहेको छ भन्ने कुरा बताउनै छाडेका थिए । ओली र उनका आसपासेहरू सर्वत्र रामराज्य कायम भएको नाङ्गो बादशाहका अनुचरका रूपमा खुम्चिँदै थिए । तिनैले गर्दा देशले पनि मूल्य चुकाउनुपरेको छ ।

कान्तिपुर दैनिकबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति