सकारात्मक रूपमा युवा ऊर्जाको प्रतीक र नकारात्मक रूपमा अपरिपक्व र विघटनकारी प्रवृत्ति

एबीसी टिप्पणी: ‘जेनजी’ भन्ने शब्दले (Generation Z) १९९७ देखि २०१२ सम्मका युवा पुस्तालाई संकेत गर्दछ। यो पुस्ताले विश्वभर विभिन्न सामाजिक, आर्थिक, राजनीतिक र पर्यावरणीय मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। तिनीहरूका आन्दोलनहरू प्रायः डिजिटल माध्यम (सोशल मिडिया) मार्फत हुने गरेका छन् । यो पुस्ताले विकसित नयाँ युवा शक्तिको प्रतिनिधित्व गर्छन्।
नेपालमा भने पहिलो पटक उल्लेखनीय रुपमा सोसल मिडिया बन्द भएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रेको छ । यहाँको जेनजी समुदायले सोसल मिडियाको पुनसुचारुसँगै वर्तमान सरकारका भ्रष्टाचार बेथिति र विकृतिका विरुद्ध पनि चर्को आक्रोश पोखिरहेको छ । प्रमुख प्रतिपक्षी दलहरु कमजोर भइरहेका बेला संसदका मुख्य दुइ दल मिलेर बनेको सरकारका विरुद्ध जेनजीको आन्दोलन चर्को पर्ने देखिएको छ ।
यिनीहरूले लोकतन्त्रको नयाँ रूप (डिजिटल सक्रियता र क्राउडसोर्सिङ( लाई प्रोत्साहन गर्न सफल देखिन्छन् । तर एकैचोटि राजनीतिक अस्थिरता र हिंसाको जोखिम पनि बोकेका हुन्छन् भन्ने सन्दर्भलाई भुल्नु हुँदैन । किनकि यो पुस्तासँग आन्दोलनको चरित्र र गन्तव्यका बारेमा कुनैखालको सुस्पष्टता हुँदैन । केवल क्षणिक आक्रोश यसको चरित्र बन्दै आएको छ । राजनीतिज्ञ र राजनीतिशास्त्रीहरूले यस्ता आन्दोलनहरूलाई सकारात्मक रूपमा युवा ऊर्जाको प्रतीक ठान्छन भने नकारात्मक रूपमा अपरिपक्व र विघटनकारी प्रवृत्ति मान्ने प्रवृत्ति देखाएका छन् ।
केन्याली राष्ट्रपति विलियम रुटोको २०२४ को फाइनान्स बिल विरोधी आन्दोलनमा जेन जी को भूमिकाको प्रशंसा गर्दै भनेका थिए, ‘म हाम्रा युवाहरूको गर्व गर्छु।’ यसलाई सैद्धान्तिक रूपमा युवा–नेतृत्वको सफल उदाहरण ठानेर, उनले आन्दोलनले कर सुधार र क्याबिनेट पुनर्गठन जस्ता राजनीतिक परिवर्तन ल्याएकोमा सन्तोष व्यक्त गरेका थिए) ।
राजनीतिशास्त्रीहरूको पीआरआरआई रिपोर्ट (२०२४) अनुसार, जेन जी पुस्ताले सामाजिक मुद्दाहरू (LGBTQ+ अधिकार, जलवायु न्याय) मा प्रगतिशील दृष्टिकोण राख्नुका साथै ‘सांस्कृतिक परिवर्तनको पूर्वावलोकन’ मा योगदान पुर्याएको रोचक निष्कर्ष अघि ल्याएको छ । राजनीतिशास्त्री मेलिसा डेकम्यानले आफ्नो पुस्तकमा ‘जेन जी’ को लैंगिक र यौनिकता–केन्द्रित सक्रियतालाई ‘प्रगतिशील संगठनको क्रान्ति’ नाम दिएकी छन् । यसले राजनीतिक पार्टीहरूलाई आफ्नो संगठन र राजनीतिक एजेण्डालाई पुनर्संरचना गर्न बाध्य पारेर सकारात्मक योगदा गर्न सक्छ ।
डिजिटल सक्रियताको महत्वः बीबीसीको विश्लेषण (२०२२) अनुसार राजनीतिशास्त्रीहरूले जेन जी जमातलाई ‘डिजिटल नेटिव’ को संज्ञाा दिएको छ । यस्तो जमातले ७० प्रतिशत युवाहरू सामाजिक वा राजनीतिक कारणमा संलग्न रहेको देखाउँछ । येल विश्वविद्यालयको युवा मत सर्वेक्षण (२०२५) ले जेन जी को राजनीतिक ज्ञान र सक्रियतालाई सकारात्मक ठहराउँदै, यसलाई ‘लोकतन्त्रको लागि नयाँ शक्ति’ मानेको छ । अमेरिकी सिनेटरहरूले बीएलएम (२०२०) र गाजा प्रदर्शनहरू (२०२४) मा जेन जी को भूमिकालाई ‘सामाजिक न्यायको नयाँ आवाज’ भन्दै प्रशंशा गरेका छन् ।

जेन जी आन्दोलनहरू सैद्धान्तिक रूपमा समावेशी र राजनीतिक रूपमा प्रभावकारी बन्दै गएकोमा सहजै देख्न सकिन्छ । यो प्रवृत्तिले पुरानो पुस्तालाई चुनौती दिने हुनाले रैथाने र सत्ताढ वर्ग जेनजीप्रति दुश्मनीपूर्ण धारणा राख्नु अनिवार्य देखिन्छ । यस्तै देखिंदै आएको छ । यसको अब्बल प्रतिनिधिका रुपमा नेपालमा नेकपा एमाले र त्यसका सर्वेसर्वा अध्यक्ष केपी ओली अग्रपंक्तिमा खडा भइरहेका छन् ।
नकारात्मक टिप्पणीहरू
केही राजनीतिज्ञ र राजनीतिशास्त्रीहरूले जेनजीकाको आन्दोलन वा प्रदर्शनलाई अपरिपक्व, विघटनकारी र सैद्धान्तिक रूपमा अस्पष्ट ठान्दै टिप्पणी पनि गरिरहेका छन् । यसले राजनीतिक स्थिरतालाई जोखिममा पार्ने उनीहरुको मनोगत बुझाई छ ।
अमेरिकी राजनीतिशास्त्रीहरूको युसी बर्केली अध्ययन (२०२४) अनुसार, जेन जी जमातले आर्थिक असमानता, जलवायु र लोकतन्त्रबारे ‘फेटालिस्टिक’ (निराशावादी) दृष्टिकोण राख्छन्, जसलाई राजनीतिक वैज्ञानिकहरूले ‘विघटनकारी राजनीतिले युवालाई हतोत्साहित बनाएको’ निकर्षमा पुगेका छन् । यसमा युवाहरूको राजनीतिक अस्वीकृति (disengagement) लाई नकारात्मक ठान्दै लोकतान्त्रिक भागीदारीलाई कमजोर बनाउने भन्ने उनीहरुको बुझाइ देखिन्छ ।
राजनीतिशास्त्री डाना फिशरले (२०२५) ट्रम्प विरोधी प्रदर्शनहरूमा जेन जी को कम सहभागितालाई ‘लोकतन्त्रप्रतिको विश्वासको ह्रास’ का रुपमा टिप्पणी गरेकी छन् । पोलिटिको को रिपोर्ट (२०२५) मा वामपन्थी युवाहरूको प्रदर्शनबाट टाढा रहनुलाई ‘प्रगतिशील आन्दोलनको संकट’ ठानिएको छ। कतिपयले जेन जी पुस्ताको विरोधलाई ‘अराजक’ भन्दै, २०२४ मा अमेरिकाका विभिन्न क्याम्पस प्रदर्शनहरूमा पुलिस दमनको कारण युवाहरूको ‘अपरिपक्व रणनीति’ देखिएको उदाहरण अघि सार्ने गर्दछन् ।
अमेरिकाकै अर्सिनस कलेज को अध्ययन (२०२४) अनुसार, जेन जीले अमेरिकी सरकारलाई ‘रद्द’ (cancel) गरेको छ । यसलाई राजनीतिशास्त्रीहरूले सैद्धान्तिक रूपमा ‘संस्थागत संकट’ मानेका छन् । यस्तो प्रवृत्ति र रवैयाको बढोत्तरीले नकारात्मक रूपमा युवा पुस्ताको राजनीतिक अलगावको बाटोमा धकेल्ने खतरा हुन्छ ।
समग्रमा जेन जी आन्दोलनहरूलाई सैद्धान्तिक रूपमा आदर्शवादी तर राजनीतिक रूपमा अव्यावहारिक मानिंदै आएको देखिन्छ । यस्तो शैलीले अनावश्यक रुपमा हिंसा वा अलगाव निम्त्याउन सक्छ।
नेपालमा के त ?
नेपालमा जेन जी पुस्ताको आक्रोश र प्रदर्शनहरु भ्रष्टाचार, सोशल मिडिया प्रतिबन्ध र राजनीतिक अस्थिरताविरुद्ध केन्द्रित देखिनु सकारात्मक पाटो हो । अहिले काठमाडौं लगायत देशभर फैलिंदै गरेको जेनजी पुस्तको सक्रियताले सोशल ‘मिडिया बन्द र नेपो बेबी ट्रेन्ड’ विरुद्ध आकर्षक लहर सिर्जना गरेको छ । यसलाई सैद्धान्तिक रूपमा युवा–नेतृत्वको नयाँ चरणको संकेतका रुपमा देख्न सकिन्छ । तर यो आक्रोश राजनीतिक रूपमा विभाजनकारी पनि बन्न सक्ने खतरा उत्तिकै छ ।
काठमाडौं मेयर बालेन शाहले यो प्रदर्शनलाई ‘शुद्ध जेन जी आन्दोलन’ ठान्दै भन्छन् , ‘प्रिय जेन जी, तिमीहरूले कस्तो देश चाहन्छौ भन!’ भन्नुले उनको वैयक्तिक चरित्रभन्दा बाहिर बाट हेर्ने हो भने उनले आन्दोलनलाई सैद्धान्तिक रूपमा न्यायपूर्ण र राजनीतिक रूपमा परिवर्तनकारी ठानेको मान्नु पर्छ ।
नेकपा एमाले नेता गोकुल बास्कोटा जो सरकारमा रहेका बेला सवैभन्दा बढी जेनजी पस्ताको निशामा पर्दै आएका थिए । उनले अहिले , ‘जेन जी र अल्फा पुस्ता आइसकेका छन्, तर बेबी बुमर पुस्ताले डराउन खोजेको छ। एकपटक जेन जी ले जिम्मेवारी लियो भने कसैले रोक्न सक्दैन’ भन्ने तहमा आइपुगेका छन् । उनको यो आक्रोश चालु एमालेभित्रको न्पिंदै गरेको भुसको धुँवाको संकेत हुनुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोशल मिडिया बन्दबारे भन्छन्, देशको सार्वभौमिकता र राष्ट्रवादको लागि सरकारले वर्षौंदेखि सोशल मिडिया प्लेटफर्महरू दर्ता गर्न जोड दिएको छ। तर केही बौद्धिकहरूले अभिव्यक्ति स्वतन्त्रताको अर्थ बुझ्दैनन्।’ ओलीका अनुसार युवा आन्दोलन सैद्धान्तिक भ्रममा परेको भन्दै सरकारको कदमलाई राष्ट्रवादी लेवल लगाउने हतारो गरेका छन्।
माइ रिपव्लिकामा प्रकाशित एक रिपोर्ट (२०२५) अनुसार कतिपय विश्लेषकहरूले युवा आन्दोलनले राजनीतिज्ञका परिवारहरूलाई निशाना पार्दा ‘साइबरबुलिङ र अन्याय’ बढाउने भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्तो शैलीले राजनीतिक रूपमा विभाजनलाई थप चर्काउने र युवा अपरिपक्वताको परिचय दिनेतर्फ सचेत हुनु पर्ने उनीहरुको सुझाव देखिन्छ ।
राइजिंग नेपालको एक रिपोर्ट अनुसार (२०२५) जेन जी ले राजनीतिलाई ‘अस्थिर र भ्रष्ट’ ठान्छन्, जसलाई राजनीतिशास्त्रीहरूले ‘लोकतान्त्रिक सहभागीताको संकट बाट उत्पन्नप्रतिक्रिया’ भनेका छन्। कतिपय युवाहरूले ‘मतदानको के मतलब छ यदि अनुहारहरू उही छन् र परिणाम सधैं अराजकता हो?’ भन्ने आक्रो पोखेका छन् । एक अमेरिकी वाइली जर्नल (२०२२) को अध्ययनले युवा राजनीतिक हिंसालाई ‘अनपेक्षित परिणाम’ भनेको छ।
राजनीतिज्ञहरूको मिश्रित टिप्पणीहरूले सैद्धान्तिक रूपमा युवा आदर्शवादलाई स्वीकार गर्दै, राजनीतिक रूपमा स्थिरताको आवश्यकता ठान्ने प्रवृत्ति भने सकारात्मक मान्नु पर्छ । तर यस्तो टिप्पणी आफू अनुकूलतामा हुने नेपाली कुलत भने यथावत छँदैछ ।
प्रमुख आन्दोलनहरू
| देश | आन्दोलनको नाम/मुद्दा | समय | प्रमुख एजेण्डाहरू | परिणाम |
|---|---|---|---|---|
| केन्या | फाइनान्स बिल विरोधी आन्दोलन (#RejectFinanceBill2024) | जुन २०२४ (मुख्य घटना: जुन १८–२६) | युवाहरूले कर वृद्धि (रोटी, सेनिटरी प्याड लगायतका दैनिक वस्तुहरूमा) विरुद्ध सडक प्रदर्शन । संसद् र सिटी हलमा आगो लगाइयो। प्रहरीले गोली चलाउँदा २३ भन्दा बढीको मृत्यु। डिजिटल माध्यमबाट लाइभ स्ट्रीमिङ र प्रचार व्यापक । | राष्ट्रपति विलियम रुटो बिल फिर्ता लिन वाध्य, क्याबिनेट पुनर्गठन। तर बेरोजगारी र भ्रष्टाचारका मुद्दा भने यथवतै । आन्दोलनले अफ्रिकामा युवा शक्तिको प्रेरणालाई नयाँ चरणमा उठायो । |
| बंगलादेश | क्वोटा प्रणाली विरोधी क्रान्ति (जुलाई क्रान्ति) | जुन–अगस्ट २०२४ | उच्च अदालतले फ्रिडम फाइटर क्वोटा पुनर्स्थापना गरेपछि ढाका विश्वविद्यालयबाट सुरु। विद्यार्थीहरूले सडक अवरोध, बङ्गला अवरुद्ध। सरकारले “राजाकर” भनी लेबल गर्दा हिंसा बढ्यो। इन्टरनेट बन्द, गोली चलाउँदा सयौंको मृत्यु (जस्तै अबु सयेद, वासिम)। शिक्षकहरू पनि प्रदर्शनमा सामेल। | प्रधानमन्त्री शेख हसिनाको राजीनामाका साथै भारततिर भाग्न वाध्य । नयाँ अन्तरिम सरकार। आन्दोलनले प्रणालीगत परिवर्तनको माग । वंगलादेश राजनीतिक पुनर्जन्म युग तर्फ । |
| सर्बिया | नवि साड रेलवे स्टेसन दुर्घटना विरोधी प्रदर्शन | नोभेम्बर १, २०२४ देखि जारी (२०२५ सम्म) | रेलवे स्टेसनको छानो भत्कँदा १५ को मृत्यु। विद्यार्थीहरूले भ्रष्टाचार, न्याय र लोकतन्त्रको माग गर्दै प्रदर्शन। शान्तिपूर्ण मार्च, किसानहरूबाट ट्र्याक्टरद्धारा सडक अवरोध। सरकारको दमन, दमनले हिंसा र मिडियामाथि नियन्त्रण। | प्रधानमन्त्री मिलोस भुचे भिकको राजीनामा। तर कानुनी जिम्मेवारीबाट उन्मुक्ति । बाल्कनको सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन, अन्तर्राष्ट्रिय समुदायलाई प्रभावित पार्न सफल । |
| म्यानमार | सैन्य तख्तापलट विरोधी आन्दोलन | फेब्रुअरी २०२१ देखि जारी | सेनाले निर्वाचन चोरेपछि जेन जीको नेतृत्वमा विरोध प्रदर्शन। हङकङ र थाइल्याण्डका आन्दोलनबाट जेनजी प्रेरित। क्रिएटिभ प्रदर्शन (फ्ल्याश मोब, सोशल मिडिया क्याम्पेन)। सेनाले दमन गर्दा हजारौंको मृत्यु। | लोकतन्त्रको माग कायमै, तीव्र सैन्य नियन्त्रण। युवाहरूबाट अन्तर्राष्ट्रिय समुदायसँग जोडिएर संघर्ष जारी । जेन जी को विविधता र डिजिटल सक्रियताले आन्दोलनलाई निरन्तर दिन सफल । |
| हङकङ | प्रो-डेमोक्रेसी प्रदर्शन | जुन २०१९ देखि २०२० सम्म | एक्स्ट्राडिसन बिल विरुद्ध प्रदर्शन सुरु, स्वतन्त्रता र लोकतन्त्रको माग। युवाहरूले मास्क लगाएर प्रदर्शन, व्यापक प्रहरी दकन । जेन जीले सोशल मिडियाबाट संगठनको अगुवाई। | बिल फिर्ता, तर चीनको राष्ट्रिय सुरक्षा कानुनका कारण दमनमा बृद्धि, युवा विभाजन (प्रो–डेमोक्रेसी बनाम प्रो–बेइजिङ)। विश्वव्यापी समर्थन । |
| चिली | सामाजिक विद्रोह (#EstallidoSocial) | अक्टोबर २०१९ देखि | मेट्रोमा गरिएको भाडा वृद्धिको विरोधमा प्रदर्शनको सुरुवात, तर असमानता, शिक्षा र स्वास्थ्यको मागमा आन्दोलन परिणत। विद्यार्थीहरूको नेतृत्व, चर्को सडक हिंसा। जेन जीको डिजिटल क्याम्पेन ऐतिहासिक । | नयाँ संविधान सभाको गठन, तर प्रक्रिया भने असफल। आन्दोलनले ल्याटिन अमेरिकामा युवा शक्तिको उदाहरण प्रस्तुत गर्न सफल |
| संयुक्त राज्य अमेरिका | ब्ल्याक लाइभ्स म्याटर (BLM) प्रदर्शन | मे २०२० (जर्ज फ्लोइडको हत्यापछि) | जातिवादी हिंसा विरुद्ध अमेरिकाभर। जेन जिको सोशल मिडियाबाट नेतृत्व, न्यूयोर्ककको टाइम्स स्क्वायरमा हजारौंको ऐतिहासिक प्रदर्शन । | पुलिस सुधारका कानुनहरूको माग गरेतपनि प्रणालीगत सुधारमा सीमित। जेन जिको सक्रियताले आन्दोलनलाई विश्वव्यापी बनाउन सफल। गाजा क्याम्पस प्रदर्शन (२०२४)– अप्रिल २०२४ देखि कोलम्बिया विश्वविद्यालयबाट सुरु, इजरायल–फिलिस्तीन द्वन्द्व विरुद्धको चर्चित प्रदर्शन। जेन जिले एन्क्याम्पमेन्ट। १९६८ को भियतनाम युद्धको विरोध प्रदर्शनको झल्को, पुलिस दमनका बाबजुद युवा एकताको ऐतिहाकि प्रतीकबन्न सफल । |
| विश्वव्यापी | क्लाइमेट स्ट्राइक (Fridays for Future) | सेप्टेम्बर २०१८ देखि जारी | ग्रेटा थुनबर्गको नेतृत्वमा स्कूल स्ट्राइक। जलवायु परिवर्तन विरुद्ध विश्वव्यापी जनउभार। जेन जिको पहलमा विश्वभर लाखौं अभियन्ता र प्रदर्शनकारी आन्दोलनमा सहभागी। | पेरिस सम्झौता जस्ता अन्तर्राष्ट्रिय जलबालयु प्रतिबद्धता बृद्धि। युवा सक्रियताबाट वैश्वि नीति प्रभावितको बलियो उदाहरण। |
माथि विश्वभर चर्चित सन् २०१८ देखियताको विश्वका विभिन्न देशहरूमा जेन जीले नेतृत्व गरेको प्रमुख आन्दोलनहरूको जानकारी दिइएको छ ।
सामान्य विशेषताहरू जेन जिका आन्दोलनहरू डिजिटल सक्रियता (ह्यासट्याग, लाइभ स्ट्रीम) मा आधारित देखिंदै आएका छन् । हुन्छन्। तिनीहरूले बेरोजगारी, असमानता, जलवायु, भ्रष्टाचार र मानव अधिकारका मुद्दा उठाउँछन्। युनिसेफको रिपोर्ट अनुसार, पछिल्ला दशकमा युवा–नेतृत्वका प्रदर्शनहरू बढेका छन्, जसमा पोलिसाइक्रिसिस (बहु–समस्या) ले यस्ता आन्दोलनहरुलाई उद्धेलित गरिरहेको छ ।
जेनजी नाराः ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, देशभर प्रदर्शन (फोटो फिचर)
स्कुल कलेज छाडेर सन्जालका लागि माइतीघरमा जेनजी जमात, निशानामा मुख्य नेता र तिनका परिवार
प्रतिक्रिया