चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा सतर्कता

नयाँदिल्ली । चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।

चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।

ओमिक्रोनको सबभेरियन्ट बिएफ(७ का संक्रमितका कारण राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ।

चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ।

बुधबार मात्रै भारतमा यहीँ भेरियन्टका तीन वटा नयाँ केस फेला परेका थिए। यद्यपि समाचार एजेन्सी एएनआईका अनुसार गुजरातको स्वास्थ्य विभागले यो भेरियन्ट भेटिएका दुई जना निको भइसकेको बताएको छ।

यसैबीच, भारत सरकारले २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत आउने यात्रुको लागि विमानस्थलमै कोरोना परीक्षण सुरू गरेको छ।

चीनमा ओमिक्रोन सबभेरियन्ट बिएफ(७ को बढ्दो केस र भारतमा पनि यसको संक्रमणलाई ध्यानमा राखेर यो निर्णय गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चीनमा कठोर लकडाउन खुकुलो बनाएलगत्तै संक्रमणदर बढेकाले भारतमा पनि सङ्क्रमितको संख्या बढ्न सक्ने भन्दै देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ।

मंगलबार मात्रै केन्द्रीय सरकारले सबै राज्यलाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना संकलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ। उक्त निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्नेछ।

भारतका स्वास्थ्य सचिव राजेश भूषणले जिनोम सिक्वेन्सिङ विधिबाट नयाँ भेरिअन्टमाथि निगरानी गर्नु जरुरी भएको उल्लेख गरेका छन्।

जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल र चीनमा अचानक सङ्क्रमण बढेको उदाहरण दिँदै उनले निगरानी बढाउन भनेका हुन्।

यस्तो प्रयासले नयाँ भेरिअन्टको पहिचान गर्न र त्यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने उनको दाबी छ।

यसैबीच केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलनसक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन निर्देशनसमेत दिएको छ।

भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले पछिल्लो अवस्थाको समीक्षा गर्दै थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

भारतले सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको थियो।

कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक हो। सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका थिए भने दशौँ लाख मानिसहरू नराम्ररी प्रभावित भएका थिए।

दुई अर्ब भन्दा बढी मानिसले खोप लगाइसकेको भारतमा सरकारी तथ्याङ्कअनुसार हाल सातामा १,२०० को सङ्ख्यामा कोभिड सङ्क्रमण देखिएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board