प्रदेश एकमा भाग्यमानी निर्मला, जता गयो उतै रोजेको मन्त्रालय

विराटनगर, ५ पुस । नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रदेशदेखी संघीय सरकारसम्म आफ्नो पक्षमा सरकार बनाउन दलहरू लागि परेका छन् । प्रदेश १ मा पनि दुई समूह सरकार गठनको अन्तिम कसरतमा छन् ।

एकातर्फ सत्ता गठबन्धनले तयारी गरिरहेको छ भने अर्कातर्फ नेकपा एमाले राप्रपाको गठबन्धनले तयारी गरेका छन् । तर, यी दुई समूहलाई निर्णायक भने जनता समाजवादी पार्टी देखिएको छ । एक सिट मात्रै पाएको जसपालाई आफ्नो पक्षमा तान्न दुवै पक्षका नेताहरूले लबिङ गरिरहेका छन् । 

९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनको ४६ र एमाले र राप्रपा गठबन्धनमा पनि ४६ सदस्य छन् । सरकार गठन गर्न ४७ सांसदको आवश्यक पर्छ । बहुमत कसैको नभएको अवस्थामा एक सिट जितेको जसपा निर्णायक हुने देखिएको छ । जसपाले जुन समूहलाई सहयोग बन्छ उसैको नेतृत्वमा मुख्यमन्त्री सहितको सरकार बन्नेछ । 

समानुपातिकबाट निर्वाचित जसपाका सांसद निर्मला लिम्बु अहिले कुनै निर्णयमा नपुगेको बताउँछिन् । दुवैतर्फका नेताहरूसगँ संवाद भइरहेको भए पनि आफू पार्टीको सिपाही भएकाले पार्टीको आधिकारिक धारणापछि मात्रै टुङ्गो लाग्ने उनको भनाई छ । 

विशेष गरी आफ्नो पार्टीको मुख्य उद्देश्य पहिचान र संघीयताको पक्षमा रहेकाले एमाले नेतृत्व होस् या कांग्रेस नेतृत्व जुनले निरन्तरता दिन्छ उसैलाई समर्थन गर्ने तयारी पार्टीको रहेको समेत लिम्बुको जोड छ ।

 उनले आफूलाई मन्त्रालय छान्नसमेत दुर्वतर्फबाट आएको बताइन् । तर, पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरी मन्त्रालयको लोभमा नपर्ने लिम्बुको भनाई छ । 

नेकपा एमालेतर्फका प्रदेश सदस्य बुद्धिराज भण्डारी प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन लागि परेको दाबी गर्छन् । उनले एमाले ४०, राप्रपा ६ र जसपाको १ सिटले बहुमत पुग्ने बताउँदै जसका नेतासगँ छलफल भइरहेको बताए । उनले पार्टीको शीर्ष नेतृत्वमा भर पर्ने बताउँदै सङ्घीय सरकार कसरी बन्छ त्यही अनुसार प्रदेश बन्ने बताए ।

नेपाली कांग्रेस प्रदेश एक सभापति उद्धव थाले जसपासँग प्रदेश स्तरमा छलफल भइरहे पनि केन्द्रीय नेतृत्वले नै सरकार गठनको निर्णय गर्ने बताए । उनले प्रदेश स्तरका नेतासगँ पनि छलफल भइरहेको भए पनि संघीय सरकार अनुसार प्रदेश सरकार निर्धारण हुने बताउँछन् । ‘हामीले पनि छलफल गरी रहेका छौँ । तर, अन्तिम निर्णय भने केन्द्रीय स्तरमै हुन्छ । त्यसैले सरकार कसको यसै भन्न सक्ने स्थिति छैन,’ थापाले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board