चीनमा अझै पनि कोभिडबाट १० लाखको मृत्यु हुन सक्छः अध्ययन

बेइजिङ, ५ पुस (एजेन्सी) । शून्य–कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । देश ठूला सहरहरुदेखि विशाल ग्रामीण क्षेत्रहरुमा  फैलिएको संक्रमणको लहरका लागि तयारी भइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

झण्डै तीन वर्षदेखि भाइरस फैलावटलाई सरकारले कडा लकडाउन, सामूहिक परीक्षण र  सम्पर्क ट्रेसिङ जस्ता उपाय चाल्दै आएको छ । तर, प्रतिबन्धविरुद्ध देशभर व्यापक प्रदर्शनपछि सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएको थियो । प्रतिबन्धका कारण दैनिक जनजीविन कष्टकर बनेको थियो । 

सरकारले प्रतिबन्ध खुकुलो बनाए पनि जोखिमविरुद्ध जुध्न यथेस्ट तयारी नभएको विज्ञहरूले चेतावनी दिएका छन् । वृद्धबृद्धाको खोप दर सशक्त पार्न, अस्पताल र गहन हेरचाह क्षमता बढाउन  र एन्टिभाइरल औषधिहरू भण्डार गर्न देशको तयारी पर्याप्त नभएको  उनीहरूले चेतावनी दिएका छन् ।

हङकङ विश्वविद्यालयका तीन जना प्राध्यापकहरूले अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउदा प्रत्येक १० लाखमा ६८४ जनाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेका छन् । चीनको एक अर्ब ४० करोड जनसंख्यालाई हेर्दा यो  ९ लाख ६४ हजार चार सय मृत्यु हो ।

संक्रमण बृद्धिले देशभरि धेरै स्थानीय स्वास्थ्य प्रणालीलाई बोझ पर्ने अनुसन्धानमा जनाइएको छ । अध्ययन मेडर्सिभ प्रिप्रिन्ट सर्भरमा सार्वजनिक गरिएको छ ।

–सीएनएन
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board