सांसदहरूलाई जबराले खुवाउनेछन् शपथ, राष्ट्रपति कार्यालय पुग्यो पत्र

काठमाडौं, ४ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथग्रहण गराउने हुनुभएको छ ।

नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो । संघीय संसद् सचिवालयका एक सहसचिवका अनुसार निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा जेष्ठ हुनुभएको हो ।

नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादव सबैभन्दा बढी उमेरको भए पनि उहाँले शपथ गराउनु हुने छैन । उहाँले नागरिकतामा वास्तविकभन्दा बढी उमेर राखेको स्वीकार गरेर संसद्‍मा ज्येष्ठ सदस्यले सबै सांसदलाई शपथ गराउँदा अनुपस्थित रहनेछन् । २०७४ को प्रतिनिधिसभामा पनि यादव अनुपस्थित रहेपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराउनुभएको थियो । यसपट भने चित्रबहादुर केसी र पशुपति शमशेर जबरामध्ये को जेष्ठ सदस्य भन्ने टुंगो लागेको थिएन । सहसचिवले भन्नुभयो महिन्द्र राय यादवले शपथ नगराउने आशय व्यक्त गर्नुभयो । पशुपति शमशेर जबरा केसीभन्दा १ महिना २६ दिनले ज्येष्ठ देखिनुभयो । वि.सं. १९९९ माघ २४ गते चित्रबहादुर केसीको देखिन्छ । २०३० मंसिर २४ गते ३२ वर्ष पुगेको नागरिकता पशुपति शमशेरको जारी भएको पाइयो । उहाँहरूबीच १ महिना २६ दिनको अन्तर छ । नागरिकताका आधारमा ज्येष्ठ सदस्य टुंगो लागेपछि संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रपति कार्यालयलाई पत्र पठानुभएको छ । उहाँले जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि अनुरोधसहित पत्र लेख्नुभएको हो । उक्त पत्र सोमबार नै राष्ट्रपति कार्यालयमा दर्ता गराइएको छ । राष्ट्रपति कार्यालयले मंगलबार, बुधबार वा बिहीबार दिउँसो १ बजेअगावै जबरालाई शपथ ग्रहण गराउनुहुने छ । त्यसपछि बिहीबार दिउँसो १ बजे जबराले अन्य सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board