बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

बागलुङ, २३ मंसिर । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ ।

काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे । रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गरेको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो । गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो ।

पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए । यही मंसिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ । झाँकी प्रर्दशनी, हेलिकोप्टरबाट पुष्पवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन संक्रितन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने महोत्सवका संयोजक सुवेदीले बताए । महोत्सवबाट संकलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिने छ । “महोत्सव सुरु हुनुभन्दा अगावै करिब ६५ लाख जुटिसकेको छ भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ”, उनले भने ।

महोत्सवबाट तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ । गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको छ ।

संस्कृत पाठशाला पुनःसञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकूल हुँदा गुरुकुललाई रामकोटधामबाट देवघाट लैजानुपरेको उल्लेख गरे ।

“अब फेरि रामकोटधाममा गुरुकुल पुनःप्रतिस्थापन गर्न सकिन्छ की भनेर यो शुभसंकल्प लिएका छौँ”, उनले भने, “सबैको साथ सहयोगको खाँचो छ ।” आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उनको भनाइ छ । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताए ।

“संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ”, उनले भने, “धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिकशास्त्रको प्रवर्द्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्‍याउँछ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board