धानको समर्थन मूल्य कार्यान्वयन गर्न किसानको माग

भैरहवा, २२ मंसिर । सरकारले प्रमुख कृषि बालीको समर्थन मूल्य तोके पनि कार्यान्वयन नभएको भन्दै किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल किसान महासंघ रुपन्देहीले सरकारले किसानहरू माथि गरेको उपेक्षित एवं  बीउ मलको अभावले कठिनाई भोग्नु परेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराएका हुन् । 

 नेपाली किसानहरुको हकहितको लागि अविरल संघर्षरत् एवं किसानहरूको आशा र भरोसाको केन्द्रको रुपमा महासंघ लाग्दै आएको छ । वर्तमान सरकारका गतिविधि एवं निर्णयहरू कार्यान्वयनमा अलपत्र अवस्थामा रहेकोले किसानहरूलाई उत्पादनदेखि बजारसम्म बिक्री गर्न अनेकन कठिनाईहरु भोग्नु परेको महासंघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पन्थीले बताए । 

सरकारले धानको ढिलै भए पनि समर्थन मूल्य कायम गरेको, तर किसानले बिक्री गर्ने कुनै स्थान या खरिदकर्ताको व्यवस्थापन नगरेकोले किसानहरूले बाध्य भएर कम मूल्यमा बिक्री गर्नु परेको, विचौलियाहरू हावी भएको भन्दै किसानहरुबाट उत्पादित वस्तुहरु जिम्मा लिने तथा बजार व्यवस्थापन अबिलम्व गर्न माग गरेका हुन् । 

सरकारको किसानहरु प्रतिको उपेक्षित मानसिकताका कारण समयमा बिउ, मल, विषादी, कृषि औजार तथा कृषि प्रविधि करण एवं उचित मूल्यमा डिजल, पेट्रोल इन्धन नपाउदा समयमा खेतीपाती लगाउन नसकेको हुँदा यस विषयमा समयमै व्यवस्थापन गरि कृषि सामग्रीहरुको सहजै व्यवस्थापन उपलब्धता गराउन माग गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले ध्यानाकर्षण पत्र बुझ्दै किसानको समस्याप्रति ध्यानाकर्षण भएको र समस्या समाधान तर्फ कदम चाल्ने बताए ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति