महाकाली विवाद : नेपाल–भारत समन्वय बैठक बस्दै

काठमाडौँ, २१ मंसिर । नेपाल–भारत समन्वय बैठक बुधबार भारतको धारचुलामा बस्ने भएको छ । भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धका बारेमा विवाद उत्पान्न भएपछि समन्वयका लागि बैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

बैठकमा धारचुलाको विश्राम गृह लोक निर्माण विभागमा मध्यान्ह १२ बजे बस्ने जनाइएको छ । भारतले महाकाली नदीमा नेपालतर्फ धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरिरहेकोप्रति स्थानीयहरूले विरोध जनाएका छन् । उनीहरूले आइतबार ढुंगामुढा गर्नुका साथै सीमा पुल बन्दसमेत गरेका थिए ।

तटबन्ध निर्माणका क्रममा विवाद उत्पन्न भएपछि नेपाली प्रशासनको आग्रहमा पिथौरागढका डिएमको उपस्थितिमा बैठक डाकिएको हो । बैठकमा भारतले पिथौरागढका जिल्ला अधिकारी रिना जोशी, नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय सहभागी हुने छन् ।

बैठकमा भारतको लोक निर्माण विभाग, सिंचाइ निर्माण खण्ड, भारतीय सीमा सुरक्षा बललगायत सम्बद्ध निकायलाई आमन्त्रण गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति