क्रोएसियासँग पराजित हुँदै जापान विश्वकपबाट बाहिरियो

काठमाडौँ, २० मंसिर । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ ।

सोमबार कतारको अल जनौब रंगशालामा भएको प्रिक्वाटरफाइनल खेलमा जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

खेलको ४३औँ मिनेटमा जापानका लागि डेइजेन मेइदाले गोल गर्दै अग्रता दिलाए पनि खेलको ५५औँ मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा जापानका तीन पेनाल्टी असफल बनाएका थिए ।

जापानका लागि ताकुमी मिनामिनो, काअरु मितोमाको र माया याशिदाले प्रहार गरेका पेनाल्टी क्रोएसियाका लिभाकोभिचले विफल पारिदिएका थिए भने ताकुमा असानोको प्रहार भने सफल भएको थियो ।

क्रोएसियाका जितमा निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले पेनाल्टीमार्फत् गोल गरेका थिए । क्रोएसियाका मार्का लिभाजाको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board