राजनीतिमा उमेरको कुनै अर्थ छैन : चन्द्र भण्डारी

बुटवल, १७ मंसिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन् । उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उनले सोच, व्यवहार र जिम्मेवारी  सबैभन्दा महत्वपूर्ण हुने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता भण्डारीले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन उमेरले वृद्ध भएपनि देश विकसित भएको, तर युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्की उमेरले युवा भएपनि देश तहसनहस भएको उदाहरण दिँदै उनले राजनीति र देश विकासमा उमेरले कुनै प्रभाव नपार्ने बताएका हुन् । 

उनले देशले पुरानो अनुहारको निरन्तरता होइन, नयाँ अनुहार खोजेको बताए । “देशले उमेरमा युवा खोजेको होइन, नयाँ अनुहार खोजेको हो, ३० वर्षसम्म एउटै अनुहारले मुलुकलाई विकासको गति दिन सकेन,” भण्डारीले भने ।

पञ्चायतले ३० वर्ष शासन गरेको र बहुदल आएपछिका ३० वर्ष अहिलेकै अनुहारबाट शासन सञ्चालन भैरहेको भन्दै भण्डारीले भने, “अब उही पुरानै अनुहारले दृष्टिकोण भएर मुलुक चल्दैन ।” सरकारको नेतृत्वबारे सोधिएको प्रश्नमा कांग्रेस नेता भण्डारीले नयाँ नेतृत्वको विकल्पका बारेमा पार्टीका नेताहरुसँग छलफल गरेपछि मात्र टुंगोमा पुगिने बताए ।

राजनीतिक दलहरु जनतामा पुग्न नसकेकाले अहिले विकल्पको खोजी भएको भन्दै भण्डारीले अहिले पनि जनताको मन जित्न होइन मत किन्न खोज्ने प्रवृत्ति विद्यमान रहेको औँल्याए । “गरिबलाई किन्न खोज्ने प्रवृत्ति बढेको छ, जनताको मन जितेर मत ल्याउने होइन, रक्सी र मासुमा भोट किनबेच हुन्छ,” उनले भने, “नेताहरु मन्त्री बन्ने, कमाउने र परिवार बन्ने सोचबाट माथि उठ्न नसक्दा यो अवस्था आयो ।” मुलुकको सबैभन्दा ठुलो रोग भ्रष्ट्राचार रहेको भन्दै भण्डारीले यसलाई निको पार्ने योग्य डाक्टर आफूहरु नै रहेको दाबी गरे ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति