काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र संगीत एवम् नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए ।
कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवम् मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिए ।
“कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वर्द्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वर्द्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पुर्याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वर्द्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्नेलगायत उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो,” उनले भने ।
नेपाली कलाकारले बनाएको कलाकृति विश्वका विभिन्न देशका संग्राहलय तथा ग्यालरीमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रूपमा स्थापित भएको बताए । ६–७ सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकी मुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसंग पनि उनले स्मरण गरे ।
प्रधानमन्त्री देउवाले भने, “अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशले मात्र नभइ विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वर्द्धन गर्ने प्रचलन सुरू भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।”
प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ ।
COMMENTS