खनाललाई एमालेको भन्यो– हारलाई स्वीकार गरेर जथाभावी अभिव्यक्ति दिन छोड्नु

काठमाडौँ, १५ मंसिर । नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।

खनालले इलाम क्षेत्र नम्बर १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाएपछि एमालेले पराजित भएपछि जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएको हो । इलाम क्षेत्र नम्बर–१ बाट खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । एमालेका बस्नेतसँग खनाल २ हजार ६६२ मतले पराजित भएका हुन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर १ को मतदानको सुरू प्रक्रियादेखि नै खनालले लगाएको आरोपप्रति पार्टीले ध्यानाकर्षण भएको जनाएको हो ।

पराजय पछि हताश मानसिकता बोकेर जथाभावी अभिव्यक्ति दिनु उचित नभएको नेकपा (एमाले)को दाबी छ । साथै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पार्टीले खनाललाई स्मरण गराएको छ ।

“निर्वाचनमा भाग लिएर मतगणना सुरू भइ प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया संगत, विधिसम्मत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैँमा अलोकतान्त्रिक प्रवृत्ति हो । अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यसप्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरूदण्डमाथिकै हमला हो,” निर्वाचन परिचालन कमिटी संयोजक उदयबहादुर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board