नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै

काठमाडौँ, १५ मंसिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएको जनाइएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिइन् । उनका अनुसार साताको दुई दिन (आइतबार र मंगलबार) काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाडौँ आउने छ ।

यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ ।

निगमले काठमाडौँ–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्ने छ । पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो । तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board