टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा

काठमाडौँ, १४ मंसिर । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ । भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट ५–५ पुरुष/महिला खेलाडी सहभागी हुने बताइएको छ ।

पुरुष/महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ । पुरुष/महिलामा १६–१६ खेलाडी छनोट हुने  छन् ।

नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्ने छन् । महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापा मगरले खेल्ने छन् । खेलाडीलाई मुख्य प्रशिक्षक सन्जिव ढुंगेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइ रहेका छन् ।

शंकर गौतमले प्रतियोगिता निर्देशक, तेजेन्द्रसिंह महराले कम्पिटिसन म्यानेजर र आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले व्यवस्थापन समितिको जिम्मेवारी पाएका छन् ।

प्रतियोगितालाई एनसेल एक्सजियटा लिमिटेड, नेपाली घर, ब्रोडलिंक, नेविकोलगायतका संस्था प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2023 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board