मधेस प्रदेशका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

काठमाडौँ, १४ मंसिर । मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन् । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।

मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधनप्रसाद महतो पराजित भएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग पराजित भएका छन् भने सिरहाको क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका कृषिमन्त्री यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले पराजित गरे । यस्तै, उद्योगमन्त्री महतोलाई नेकपा (एमाले)का हरिनारायण महतोले पराजित गरे ।

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (२) बाट, कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (२) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (२) बाट पुनः निर्वाचित भएका छन् ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board