कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

सुर्खेत, १२ मंसिर । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१) बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह परियार निर्वाचित भएका हुन् ।

उनले हुम्ला प्रदेश (१) का स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई एक हजार ८५१ मतान्तरले पछि पार्दै विजयी भएका थिए । उनले छ हजार ४८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार ६३० मत प्राप्त गरेका थिए । माओवादी केन्द्रबाट उनले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् ।

नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् ।

साना दलहरुमा एकमात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नम्बर १ को (२)मा मनकली रामजाली, क्षेत्र नम्बर २ को (१)मा बिजुकला राना र दैलेख क्षेत्र नम्बर १ को (२)बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो । उक्त निर्वाचनमा रामजालीले ६३, रानाले ३०६ र सिंहले २०२ मत मात्र ल्याएर पराजित भए ।

जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले टिप्पणी गरिन्। “महिला प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकटबाट वञ्चित गर्नु संविधान विरोधी कार्य हो”, शाहीले भनिन्, “आगामी दिनमा यसलाई सशक्त मुद्दाका उठाउनुपर्दछ ।”

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले महिलाहरु प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताइन् । “सामान्यतः महिलाले टिकट नपाएका भन्ने चाहिँ होइन तर संवैधानिक व्यवस्थाबमोजिम न्यायिक बन्न सकेन”, उनले भनिन्, “कर्णाली प्रदेशसभा सदस्यमा सबै पार्टीले प्रत्यक्षमा महिला उम्मेदवार उठाउने सवालमा निकै ठूलो अन्याय भएको हो ।”

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार एमालेको एक लाख ८३ हजार ९५०, नेपाली कांग्रेसले एक लाख ७० हजार ७५६, माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९, नेकपा (एकीकृत समाजवादी)ले ३५ हजार ८२६, राप्रपाले २५ हजार १८६, नेमकिपाले आठ हजार ९९३ र नेकपा (माले)ले तीन हजार ९९ समानुपातिक मत प्राप्त गरेका छन् ।

अन्य दलरुले दुई हजारभन्दा कम मत ल्याएका छन् । सबै दलहरु गरेर कर्णाली प्रदेशमा पाँच लाख ७६ हजार एक सय ६७ समानुपातिक मत प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख गरिएको छ । प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरुले जितेर आएका छन् । प्रदेशसभामा ४० सदस्य रहने व्यवस्था छ । यसमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ । ४० सदस्यीय प्रदेशसभामा विभिन्न दलहरुबाट ३३ प्रतिशतका हिसाबले १३ महिला प्रदेशसभा सदस्यको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति हुने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board