देउवाका ६ मन्त्री पराजित

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५६ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब नौ क्षेत्रको आउन बाँकी छ । 

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनाव हारेका छन् । जसमा शक्तिशाली गृहमन्त्री पनि पर्छन् । निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् । 

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक बोहरा निर्वाचित भएका छन्। बोहराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार चार मतमा सीमित भए । सत्तागठबन्धनका उम्मेदवार खाणलाई एमालेको सहयोगमा राप्रपाका दीपक बोहराले हराए ।

माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसाललाई ललितपुर ३ बाट डा.तोसिमा कार्कीले पराजित गरिन् । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी हुन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसाल आठ हजार ७६९ मतका साथ तेस्रो स्थानमा सीमित हुन पुगिन् ।

एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरेका हुन् । विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले चार हजार १७७ मत मात्रै ल्याएर तेस्रो स्थानमा खुम्चिए ।

माओवादी नेता एवं खेलकुदमन्त्री महेश्वर गहतराज पनि पराजित भएका छन् । बाँके १ मा उम्मेदवार बनेका गहतराजलाई एमालेका सूर्य ढकालले पाँच हजार ३९४ मतान्तरले पराजित गरेका हुन् । ढकालले २५ हजार २६ र मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए।

कांग्रेस सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ बाट पराजित भएका छन्। उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। मैनालीले ३९ हजार १९५ र चौधरीले ३० हजार ५६ मत ल्याए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका हुन् । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याए। 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board