मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय

काठमाडाैँ, ११ मंसिर । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भएका छन् ।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका छन् । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन् । रायले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गरे ।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भएका छन् । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले) नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए ।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उनी डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुन् । पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिएका थिए ।

को हुन राय ?
राय नेपाली राजनीतिको परिचित नाम हो । विसं २०६२÷६३ अघिसम्म एमालेबाट राजनीति गरेका राय सो पार्टीको केन्द्रीय सदस्यसमेत बने । सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित भए ।

तर २०६२÷६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बने । राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उनी तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत भए । पछि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आवद्ध छन् ।

राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी भएका थिए । संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उनी सर्लाही–२ बाट निर्वाचित भए । उनी २०५४ मा राज्यमन्त्री, २०६४ मा सिंचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपन्क्षी विकासमन्त्री बनेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2023 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board