विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ, ११ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै छन् ।

विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदै छन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुने छ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुने छ । जापान दोस्रो जितको खोजीमा हुने छ ।

यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुने छ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो ।

त्यस्तै, दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुने छ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो ।

मोरक्को भने पहिलो जितको खोजीमा हुने छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुने छ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुने छ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो ।

त्यस्तै, आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्ने छ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुने छ । त्यस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुने छ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2023 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board