३१ वर्षपछि कालीकोटमा कांग्रेसको जित

काठमाडौँ, ११ मंसिर । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जित हासिल गरेको थियो ।

विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सकेको थिएन । तर, रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर विष्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जित दिलाउन सफल भएका हुन् ।

तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विष्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार ७१७ मत ल्याएका थिए ।

यही मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का वीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरे।

विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गरेका थिए भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए । साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गरेका थिए ।

विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजंग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजंग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गरेका थिए । तर, २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ ।

“प्रदेशसभा सदस्यमा कांग्रेसले जित निकाल्न सफल भएको छ”, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जितले निकै खुसी बनाएको छ ।” वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जित निकालेको कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board