काठमाडौँ, ८ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका छन् । कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।
देशकै राजधानी रहेको काठमाडौँका सबै क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ । यस पटकको निर्वाचनमा काठमाडौँमा फरक परिणाम देखिएको छ । देशकै बौद्धिक समाज रहेको मानिने काठमाडौँमा प्रत्येक निर्वाचनमा फरक खालका नतिजाहरू आइरहेकै हुन्छन् ।
यस पटकको निर्वाचनमा समेत काठमाडौँले फरक परिणाम दिएको छ । पुराना स्थापित भनिएका राजनीतिक दलहरूलाई टक्कर दिँदै यस पटक यहाँ देशकै कान्छो पार्टी लोभलाग्दो गरी उदाएको छ ।
देशकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका ४ क्षेत्रमा विजय हासिल गरेको छ । काठमाडौँमा यस पटक कतिपय क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंह यस क्षेत्रबाट पटक पटक सांसद निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र झिनो मतान्तरले नेता सिंहसँग पराजित भए ।
काठमाडौँ क्षेत्र नम्बर २ मा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित भएकी छन् । पूर्वसभामुख रहेकी नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीलाई हराउँदै गौतम विजयी भएकी हुन् ।
विसं २०५२ असार ३ गते जन्मिएकी गौतम सम्भवतः प्रतिनिधिसभाकै कान्छी सदस्य हुन् । उनी काठमाडौँका लागि समेत नयाँ अनुहार हुन् । दोलखाको तामाकोसी गाउँपालिकामा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् ।
काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसे पनि प्रतिनिधिसभामा नयाँ अनुहार हुन् । झण्डै चार दशक राजनीतिमा सक्रिय रहेका चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुन् ।
यस्तै, प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित छन् । यसअघि पनि सांसद निर्वाचित भइसकेका छन् । संघीय सरकारको स्वास्थ्य मन्त्रीसमेत भइसकेका थापा संसद्का लागि नयाँ अनुहार होइनन् ।
काठमाडौँ ५ बाट नेपाली कांग्रेस प्रदीप पौडेल विजयी भएका छन् । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गरेका पौडेल प्रतिनिधि सभामा नयाँ अनुहार हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय नेता पौडेल पहिलो पटक संसद टेक्दैछन् ।
यस्तै, काठमाडौँ ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई हराउँदै शिशिर विजयी भएका हुन् । खनाल प्रतिनिधिसभामा नयाँ अनुहार हुन् ।
काठमाडौँ ७ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पनि नयाँ अनुहार हुन् । माओवादी केन्द्रकी मानुषी यमि भट्टराई पछि पार्दै उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
काठमाडौँ क्षेत्र नम्बर ८ मा निर्वाचित भएका विराजभक्त श्रेष्ठ पनि नयाँ अनुहार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य थिए । प्रतिनिधिसभामा श्रेष्ठ पनि नयाँ अनुहार हुन् ।
यस्तै, काठमाडौँ क्षेत्र नम्बर ९ र १० मा भने यस पटक पनि पुरानै अनुहार दोहोरिएका छन् । क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, काठमाडौँ १० बाट नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका छन् । श्रेष्ठ र केसी दुवै जना यसअघि पनि सांसद थिए ।
प्रतिक्रिया