यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने संकल्प छ : रवि लामिछाने

चितवन, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो संकल्प रहेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताए ।

“हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा दिदीबहिनीको हो,” उनले भने । संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रुपमा अगाडि बढाउने उनको भनाइ छ ।

“मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ”, उनले भने, “अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षामा खरो उत्रनेछौँ ।”

उनले अहिलेनै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुंगो नलागेको बताए। “पार्टीको बैठकबाट यसबारे निर्णय गर्छौँ,” उनले भने, “एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेण्डा कार्यान्वयनमा ल्याउने छौँ ।”

उनले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताए । “मैले कहिँकतै बाटो बिराए भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु,” उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board