बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?

काठमाडौँ, ७ मंसिर । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम  चलिरहेको छ । 

विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न थरिका उम्मेदवारले यस निर्वाचनमा भाग लिएका छन् । यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्यासमेत कम छैन । आम निर्वाचन २०७९ मा नेपाल सरकारका प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मले उम्मेदवारी दिएका थिए । जसमध्ये कतिपय मन्त्री उम्मेदवार रहेका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ भने कतिपय क्षेत्रको मतगणना जारी छ । 

यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुराको मतपरिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार प्रधानमन्त्री देउवा सातौँ पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रहेका सागर ढकाललाई भारी मतान्तरसहित पराजित गर्दै देउवा विजयी भएका हुन् । 

गृहमन्त्री बालकृष्ण खाड रुपन्देही–३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् । गृहमन्त्री खाडको क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार खाडले राप्रपाका दीपक बोहोरासँग कडा प्रतिष्पर्धा गरिरहेका छन् । 

 सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की  नसरी क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।  उनी उम्मेदवार रहेको क्षेत्रमा समेत मतगाणना जारी छ ।  प्रारम्भिक मतगणनाअनुसार उनी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग तीव्र प्रतिस्पर्धामा छन् । 

ऊर्जा मन्त्री पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले जित्ने पक्का भएसँगै मन्त्री भुसाल निर्वाचन हार्ने करिब निश्चित देखिन्छ । 

माओवादीका उपमहासचिवसमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् ।  उनको निर्वाचन क्षेत्रको समेत अन्तिम मतपरिणाम सार्वजनिक भइसेकेको छैन । प्रारम्भिक मतपरिणामअनुसार अर्थमन्त्री शर्मा एमालेका नन्दाराम देवकोटासँग चर्को प्रतिस्पर्धा गरिरहेका छन् । 

परराष्ट्रमन्त्री नारायण खड्का नेपाली कांग्रेसका तर्फबाट उदयपुर क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । प्रारम्भिक मतपरिणामअनुसार उनी अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले पछ्याइरहेकी छन्। 

यस्तै खानेपानीमन्त्री कांग्रेसका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर १  बाट उम्मेदवार छन् । मन्त्री चौधरीको निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम प्राप्त भइसकेको छैन । प्रारम्भिक मतपरिणामअनुसार  एमालेका अच्युतप्रसाद मैनालीसँग प्रतिस्पर्धामा छन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु नेपाली कांग्रेसबाट दार्चुलामा उम्मेदवार छन् । मन्त्री बडूको निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार मन्त्री बडूले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका गणेश सिंह ठगुन्नाले पछ्याइरहेका छन् । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रहेका नेकपा (माओवादी केन्द्र)का नेता बागलुङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु शर्मालाई पछि पार्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

खेलकुद मन्त्री महेश्वरजंग गहतराज माओवादी केन्द्रका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । उनको निर्वाचन क्षेत्रमा मतगणना जारी छ । 

यस्तै पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजित भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबट काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवार रहेका मन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका हुन् । 

सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।  नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका चौधरीको निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।  सुरुवातदेखि नै अग्रता लिइरहेका मन्त्री चौधरीले जित्ने सम्भावना बलियो देखिन्छ । 

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले टिकट नै पाएनन् ।  सत्ता गठबन्धनको भागबन्डामा तेह्रथुम नअटेपछि खापुङले टिकट पाउन सकेनन् । 

यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अछाम क्षेत्र नम्बर १ बाट विजय हासिल गरेका छन् । एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका मन्त्री कुँवर भारी मतले विजयी भएका हुन् । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट उम्मेदवार छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धामा रहेका श्रेष्ठ पनि हार्ने सम्भावना बलियो देखिन्छ ।  झण्डै तेब्बर मतले अग्रता लिइरहेका लामिछानेसँग नेकपा (एमाले)का कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा देखिए पनि श्रेष्ठको हार निश्चित जस्तै देखिन्छ । यद्यपि, मतगणनाको अन्तिम नतिजाले यी सबै प्रश्नको जवाफ दिने नै छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board