मुस्ताङका योगेश गौचन बने प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेता

काठमाडौँ, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचनको पहिलो मत परिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

सोमबार सकिएको मगतणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । मुस्ताङका पूर्वजिल्ला कार्यसमिति सचिव तथा हाल गण्डकी प्रदेश कार्यसमितिका कार्यसम्पादन समिति सदस्य योगेश युवा व्यवसायीसमेत हुन् ।

प्रतिनिधिसभामा निर्वाचित योगेशले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

निर्वाचन आयोगले मत परिणामको घोषणा गर्न बाँकी रहेको छ । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए ।

मुस्ताङको कुल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति