बाजुरामा गोली लागेर एकको मृत्यु, तीन जना घाइते

बाजुरा, ४ मंसिर । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् ।

बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् ।

बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो ।

त्यसैगरी बाजुराको बुढीनन्दा नगरपालिका, बुढीगंगा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बाजुरामा मतदान स्थगन तथा त्रिवेणी नगरपालिकामा भएको घटनासम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति