काठमाडौँ, ४ मंसिर । नयाँ सांसद चुन्नका लागि आज देशभर मतदान भइरहेको छ । आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुने छ ।
आममतदातासँगै विभिन्न दलका शीर्ष नेताहरूले पनि अहिले मतदान गरिरहेका छन् । नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मत खसालेका छन् ।
गोरखा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका हुन् ।
मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए । उनले जबसम्म संविधानमाथि र सुशासन र समृद्धिको यात्रामाथि प्रश्नचिन्ह रहन्छ, गठबन्धन जारी रहने बताए ।
उनले गठबन्धनमा प्रधानमन्त्रीको टुंगो नलागेको पनि बताए । “प्रधानमन्त्रीका उम्मेदवार धेरै छन् अहिले । नेपाली कांग्रेसमा शेरबहादुर देउवादेखि गगन थापा र अरूले पनि दाबी गरिरहेका छन् । त्यसकारण हामीले गठबन्धनभित्र प्रधानमन्त्रीको टुंगो लगाएका छैनौ । मैले सबैतिर भनेको छु, प्रधानमन्त्री समस्याको विषय हुँदैन,” उनले भने ।
२०७४ मा चितवन–३ बाट निर्वाचित प्रचण्ड यसपटक गोरखा–२ बाट उम्मेदवार भएका छन् । तर, चितवनप्रति आफ्नो सम्बन्ध कायमै रहने उनको भनाइ छ ।
प्रतिक्रिया