आज कस्ता गाडी चलाउन पाइन्छ ?

काठमाडौँ, ४ मंसिर । आज चुनावको दिन भाडाका गाडी चलेका छैनन् । आज तोकिएका गाडी मात्रै सञ्चालन गर्न पाइने नियमअनुसार धेरै गाडी नचलेका हुन् । दैनिक उपभोग्य वस्तु बोक्ने तथा अत्यावश्यक सेवाका गाडी निर्वाच रूपमा चलाउन पाइने आयोगले जनाएको छ ।

आज बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने गाडी, दमकल, शव वाहन, अस्पतालमा कार्यरत परिचयप्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले आवत जावतका लागि गाडी चलाउन पाउँछन् ।

सूचना तथा प्रसारण विभाग वा प्रदेश रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अरू त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भइ सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले पनि निर्वाच रूपमा गाडी चलाउन पाउने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने गाडी, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, फोहोरमैला ओसारपसार गर्ने गाडी, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने गाडी, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवम् कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको गाडी, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको गाडी, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको गाडी, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडीका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । तर, त्यस्ता गाडी मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन ।

अपांगता भइ आफैँ डिँड्डुल गर्न नसक्ने व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधि कायम रहेको पूर्व अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा गाडी चलाउन सकिने आयोगले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने र बाहिरिने गाडीलाई सवारी अनुमति पत्र आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । तर, विमानस्थलसम्म आवतजावत गर्ने गाडीमा सवार व्यक्तिले हवाई टिकट र पासपोर्ट अनिवार्य देखाउनुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

मापदण्डविपरीत गाडी प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो गाडी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति