फिफा विश्वकप फुटबल आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै

काठमाडौँ, ४ मंसिर । पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आजदेखि सुरु हुँदै छ । पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुने छ । समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका छ । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुने छ । पहिलो दिन एकमात्रै खेल हुने छ । दुवै टोली पहिलो खेल जित्दै विजयी सुरुवात गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगलसमेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो । 

मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो । युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् । जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन् । 

कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन् । ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५–४–१ को रणनीतिमा मैदान उतार्ने छन् । इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ कतारले सबै खेल जितेको छ । इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुने छन् । 

दक्षिण अमेरिकी टोली इक्वेडरलाई अर्जेन्टिनी प्रशिक्षक गुस्ताफो अल्फारोले ४–३–३ को रणनीतिमा मैदान उतार्नेछन् । उनको प्रशिक्षणमा इक्वेडरले पछिल्लो ६ खेलमा दुईमा जित र चारमा बराबर खेलेको छ । हालसम्म इक्वेडरले विश्वकपमा १० खेल खेलेको छ । 

मैदानमा मदिरा प्रतिबन्ध
मुस्लिम मुलुक कतारले रंगशालामा मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले प्रतियोगिता सुरु हुन दुई दिनअघि मात्रै यस्तो घोषणा गरेको हो । फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको जनाएको छ । यसअघि रंगशालामा मदिरा बिक्री हुने बताइएको थियो । कट्टर इस्लामिक राष्ट्र भएको नाताले कतारमा मदिरा सेवन तथा यौनजन्य क्रियाकलापमाथि कडा प्रतिबन्ध थियो । 

आठ मैदानमा खेल 
कतारले विश्वकपमा ६४ खेलहरु आठ रंगशालामा आयोजना गर्ने छ । मुख्य आठ रंगशालामा रहँदा सहभागी टोलीले अभ्यासका लागि अन्य मैदानको प्रयोग गर्नेछन् । कतारले विश्वकपको लागि ८० हजार दर्शक क्षमताको लुसेल आइकोलिन रंगशाला बनाएको छ । ६० हजार क्षमताको अल वेत रंगशालमा छ । यसैगरी ४० हजार दर्शक क्षमताको एडुकेसनल सिटी रंगशाला, अहमद विन अली रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल–थुमामा रंगशाला, स्टेडियम ९७४, अल–जनोब रंगशालामा खेल हुने छन् । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board