शीर्ष रिपब्लिकनहरूको भेलालाई ट्रम्पले सम्बोधन गर्ने

एजेन्सी, ३ मंसिर । सन् २०२४ मा राष्ट्रपतिको दौडमा पुनः भिड्ने तयारीको घोषणा गरेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमार्फत् ह्वाइट हाउसका सम्भावित प्रतिद्वन्द्वीहरूसहित यस सप्ताहन्तमा रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूको भेलालाई सम्बोधन गर्दै छन् ।

पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पको नाम लस भेगासमा शुक्रबार सुरु भएको रिपब्लिकन यहुदी गठबन्धनको वार्षिक नेतृत्व बैठकको अतिथि सूचीमा ढिलो थपिएको थियो ।

ट्रम्प शनिबार भिडियोमार्फत् शीर्ष वक्ताहरूको सूचीमा सामेल हुनेछन् जसमा फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस, पूर्वउपराष्ट्रपति माइक पेन्स र पूर्वमन्त्रीलगायतको सूची तयार छ । उनको मार–ए–लागो घरमा एक घण्टा लामो सम्बोधनपछि आगामी राष्ट्रपतिको दौडका निम्ति उनको यो पहिलो सार्वजनिक सम्बोधन हुने छ ।

त्यो भाषण मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको निराशाजनक प्रदर्शनको एक हप्तापछि आयोजित हुँदै छ । नेतृत्वद्वारा समर्थित उच्च प्रोफाइल उम्मेद्वारहरूले मतदानमा मुख्यधारमा रहेका रिपब्लिकनहरूभन्दा खराब प्रदर्शन गरेको टिप्पणी भइरहेको छ ।

यद्यपि, रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा झिनो बहुमत हासिल गर्न मात्र सफल भएको छ ।

शुक्रबार एक रात्रिभोज उत्सवपछि पोम्पीओले रिपब्लिकनहरूलाई अगाडि बढ्न आग्रह गरेका थिए।

उनले आफ्नो पुरानो नेतृत्वको नाम उल्लेख नगरे पनि गुनासो गर्नेभन्दा पनि काम गर्नुपर्ने आवश्यकताको बारेमा घुमाउरो पाराले जोड दिएका थिए ।

“जब हामी रूढीवादी मुद्दा प्रस्तुत गर्छौँ, जब हामी तर्क गर्छौँ… हामी त्यसो खुसी र मुस्कानका साथ गर्छौँ,” उनले भने, “हामी केवल मेसिनको विरूद्ध काम गर्दैनौँ…हामी केवल फक्स न्युजमा जादैनौँ वा ट्विटहरू पठाउँदैनौँ, हामी वास्तवमा कडा मेहनत गर्छौँ।”

रिपब्लिकनको कमजोर चुनावी प्रदर्शनको लागि आफूलाई दोष दिन अस्वीकार गर्ने ट्रम्पले सम्भावित राष्ट्रपतिका प्रतिद्वन्द्वीहरूका बारेमा आफ्नो परम्परागत बम फ्याँक्न सुरु गरिसकेका छन् । डेसेन्टिसलाई ‘रोन डिस्यान्टिमोनियस’ भनेर डब गर्दै र भर्जिनियाका गभर्नर ग्लेन यंगकिनको नाम ‘चिनियाँ सुनिन्छ’ जस्ता टिप्पणी सार्वजनिक भएका छन् ।

शनिबारको उपस्थिति पनि अमेरिकी न्याय विभागले ट्रम्पमाथिको आपराधिक अनुसन्धानको निरीक्षण गर्न एक स्वतन्त्र अभियोजकको नाम दिएपछि सार्वजनिक हुने छ । जसमा उनको शीर्ष गोप्य कागजातहरू लुकाउने र जनवरी २०२१ मा अमेरिकी क्यापिटलमा भएको भीड आक्रमणमा उनको संलग्नता समावेशलगायतका आरोप छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board