नेपालले युएईलाई तीन विकेटले हरायो

काठमाडौँ, ३० कात्तिक । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।

जितसँगै तीन खेलको सिरिजमा नेपालले युएईसँग १–१ को बराबरी गरेको छ । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन बनाए भने सोमपाल कामी १६ रनमा अविजित रहे ।

त्यसैगरी, कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३, कप्तान रोहित पौडेलले ८ तथा आशिफ शेखले ६ रन जोडे । बलिङतर्फ युएईका रोहन मुस्तफाले ३ विकेट लिए भने हजरत बिलालले २ विकेट लिए । त्यस्तै, बसिल हामिदले १ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अलिशन शराफुले ३५ तथा वृत्य अरविन्दले २५ रन बनाए । बसिल हामिदले २४, कप्तान सिपी रिजवानले २२ तथा विष्णु सुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३–३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।

युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board