मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ, ३० कात्तिक । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालविरुद्ध उत्रदा पाकिस्तान फिफा निलम्बनपछि सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छ । खेल साझ ५ बजे सुरु हुने छ ।

नेपालका लागि पाकिस्तान सधैँ कठिन प्रतिद्वन्द्वी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको छ । तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तान नेपालविरूद्ध आठ वर्षपछि खेल्न लागेको हो । 

नेपालले पछिल्लो पटक सन् २००८ जुन ७ साफ च्याम्पियनपसपमा पाकिस्तानमाथि ४–१ को जित निकालेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल भएको छ । पाँचमध्ये तीन खेल पाकिस्तानले जितेको छ भने दुई खेल बराबरी भएको थियो । 

नेपालले गत महिना दशरथ रंगशालामै बंगलदेशविरुद्ध अन्तर्राष्टिय मैत्रीपूर्ण खेल खेलेको थियो । अञ्जन विष्टको ह्याट्रिकप्रेरित नेपालले सो खेल ३–१ ले जितेको थियो । 

सोही टोलीका अधिकांश खेलाडीलाई समावेश गर्दै कार्यवहाक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

पाकिस्तानविरुद्ध नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ टोलीमा छैनन् । उनको अनुपस्थितिमा रोहित चन्दले नेपाली टोलीको कप्तानी सम्हाल्ने छन् । गोलकिपर किरणको अनुपस्थितिमा विशाल श्रेष्ठले नेपाली गोलपोस्टको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको छ ।

बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १० पुर्‍याएका अञ्जनका लागि सो गोल संख्या बढाउने यो सुनौलो अवसर हो । हरी खड्का र निराजन रायमाझीको नाममा १३ गोलको कीर्तिमान रहेको छ ।

दशरथ रंगशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो ५०औँ अन्तर्राष्ट्र्रिय खेल हो । नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board