भोजपुरमा तेस्रोपटक भिड्दै किराती र शेरधन

काठमाडौँ, ३० कात्तिक । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुरमा लोतान्त्रिक–वाम गठबन्धन र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ प्रतिनिधिसभा सदस्यमा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सुदन किराती चुनावी मैदानमा होमिएका छन् ।

यो निर्वाचन शेरधन र किरातीबीचको तेस्रो प्रतिस्पर्धा हो । विसं २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा शेरधनलाई पराजित गर्दै किराती विजयी बनेका थिए । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा किरातीलाई पराजित गर्दै राईले जित हासिल गरेका थिए ।

विसं २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट किराती प्रतिनिधिसभामा र राई भोजपुर प्रदेशसभा (२) सदस्यमा विजयी बनेका थिए । यो निर्वाचनमा भने किराती र शेरधनबीच नै पुनः प्रतिनिधिसभा सदस्यमा भिडन्त भइरहेको छ ।

दुवै उम्मेदवारले जित आफ्नो हुने दाबी गरिरहेका छन् । यसअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई आधार मान्दा एमालेको जिल्लामा सबैभन्दा बढी मत देखिन्छ । तर, गठबन्धनका दलहरूको सम्पूर्ण मतलाई जोड्दा एमाले दोस्रो स्थानमा रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले २७ हजार ६५६, नेपाली कांग्रेसले २३ हजार ५९९, नेकपा (माओवादी केन्द्र)ले १४ हजार ७६१ र नेकपा (एकीकृत समाजवादी)ले १ हजार ९०६ मत पाएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा लोकतान्त्रिक–वाम गठबन्धनको ४० हजार २६६ मत छ । एमालेको २७ हजार ६५६ मत रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रदेशसभा (१) मा एमालेका तर्फबाट हरिबहादुर राई र गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा (२)मा एमालेबाट प्रेम कार्की र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद वान्तावा चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्यमा पनि एमाले र गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँका ८१ वटा वडामध्ये प्रदेशसभा (१)मा ४० र प्रदेशसभा (२)मा ४१ वडा परेका छन् । जिल्लामा कुल एक लाख २३ हजार ३७९ जना मतदाता रहेका छन् । प्रदेशसभा (१)मा ६४ हजार २३७ र प्रदेशसभा (२)मा ६९ हजार १४३ मतदाता छन् ।

निर्वाचनलाई लक्षित गरेर ४५८ नेपाल प्रहरी, ९१० म्यादी प्रहरी र आवश्यकताअनुसार सशस्त्र र नेपाली सेना परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । जिल्लामा ८७ वटा मतदानस्थल कायम गरिएको छ । यहाँ दुई अस्थायीसहित १५५ वटा मतदान केन्द्र रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board