राष्ट्रपति बन्ने सहमति भएको छैन तर जिम्मेवारी लिन तयार छु : खनाल

इलाम, ३० कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् ।

इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खनालले मंगलबार पत्रकारसँग कुरा गर्दै भने, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।”

उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए । “अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु ।”

खनालका अनुसार या निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो । उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताउँदै उनले भने, “मसँग अनुभव छ, देश बनाउने योजना छ । त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु ।”

इलाम क्षेत्र नम्बर १ मा सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाइ छ । “लामो समयदेखि मैले प्रयास गर्दा पनि अपूरो रहेको काम गर्न यहाँका जनताले पुनः एकपटक मलाई निर्वाचित गराउनुहुनेछ,” उनले भने, “भएका काम धेरै छन्, हुन बाँकी पनि छन् त्यो अभिभारा पूरा गर्न जनादेश लिएर जाँदै छु ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति