काठमाडौँ, २९ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ को चुनावपछि पनि पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
सत्ता गठबन्धनभित्र अबको प्रधानमन्त्री देउवा बन्ने विवाद नरहेको उनले बताए । तर, देउवा ५ वर्ष नै प्रधानमन्त्री बन्ने हो कि अरू कसैलाई केही वर्ष छाड्ने भन्नेबारे अहिले नै तय नभएको उनको भनाइ थियो ।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले भने, “भोलिका दिनमा स्वभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो, कांग्रेसभित्र पनि देउवाकै नेतृत्वमा,” उनले भने, “कति वर्ष उहाँ प्रधानमन्त्री बन्ने समझदारीबाट जाने कुरा हो । सबै दलसँग छलफल गरेर यो विषय पछि टुंगो लाग्छ ।”
कांग्रेसले १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९१ मा उम्मेदवारी दिएको उनले बताए । साथै ३३० प्रदेशसभामध्ये १५२ सिटमा उम्मेदवारी दिएको उनले बताए । “धेरै सिटमा कांग्रेसले नै उम्मेदवारी दिएको छ । कांग्रेसको नेतृत्वदायी भूमिका छ भनेर विगतमा सबैले भनेको हो । भोलिका दिनमा पनि स्वभाविक रूपमा नेतृत्वदायी भूमिका रहन्छ,” उनले भने ।
कांग्रेसभित्र महामन्त्री गगन थापालगायतले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । कांग्रेसमा सांसद् जितेकामध्येबाट संसदीय दलको नेता चयन हुने र उक्त नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
“अब पनि स्वभाविक रूपमा देउवाले नै सरकारको नेतृत्व गर्ने हो । यो स्वभाविक छ । स्वभाविक कुरा सभापतिजी भनिरहनुहुन्न,” उनले भने, “प्रधानमन्त्री भनेर जसलाई प्रचार गर्न मन लागेको छ उनीहरूले गरिराखेका होलान् ।”
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समझदारीमा जान चाहेको र प्रधानमन्त्री दाबी नगरेकाले देउवा नै अब प्रधानमन्त्री हुने महतको दाबी थियो ।
प्रतिक्रिया