चुनावपछि रामचन्द्र पौडेल प्रधानमन्त्रीको हकदार : प्रचण्ड

तनहुँ, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् ।

तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन ठुलो भूमिका निर्माण गरेकाले रामचन्द्र पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए ।

“पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यसकारणले पौडेलजीलाई अत्याधिक बहुमतले जिताएर पठाउनुहोस्,” उनले भने ।

प्रचण्डले गोरखाबाट आफू उम्मेदवार भएको, तनहुँबाट पौडेल र लमजुङबाट माओवादीका महासचिव देव गुरूङ उम्मेदवार भएकाले यो क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्ने बताए ।

उनले नेकपा (एमाले)लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताए । “संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो ? भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ,” उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति