विकासका लागि नयाँ अभ्यासको थालनी गर्छु : विष्णु पौडेल

बुटवल, २८ कात्तिक । नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । अब नयाँ अभ्यासका रूपमा एकीकृत विकासको अवधारणा अघि सारिने उनले बताए ।

आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रमअन्तर्गत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदार पौडेलले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकतालाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताए । 

उनले भौतिक पूर्वाधारको विकाससँगै अब मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्यांक संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्यलगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको बिकास गरिने उनले बताए । 

सिंगो रुपन्देहीलाई अन्य ठाउँबाट बिकास सिक्न आउने नमुनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पल्हाउन थालेको बताए । एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरु बारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गरे । 

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौं भनि जनतासामू ग्यान्टि गर्नुपर्ने उल्लेख गरे । ‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन्,’ श्रेष्ठले भने, नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिवद्ध छ ।’ आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उनले मुलुको समृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको दाबी गरे । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति